धरान: नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को चुनावी तालमेलले सुनसरी निर्वाचन क्षेत्र नं १ मा एमाले पार्टीभित्र जन्माएको असन्तुष्टी अझै मत्थर हुन सकेको छैन ।

पार्टी निर्णयप्रति असन्तुष्टी जनाउदै स्वतन्त्ररुपमा बागी उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको भन्दै नेता, कार्यकर्ताहरुलाई साधारण सदस्य नरहने गरि एमालेले कारबाही गरिरहेको छ भने स्पष्टीकारण सोधिएपछि धरानका अर्का एक जिल्ला नेताले पनि राजिनामा दिएका छन् । एमालेका जिल्ला कमिटी सदस्य रविन अधिकारीले जिल्ला कमिटी सदस्यबाट राजिनामा दिएका हुन् । 

तालमेलबाट आफु असन्तुष्ट भएपनि कसैलाई भोट नमागी बसेको अवस्थामा ३ दिनभित्र स्पष्टीकरण बुझाउनु भन्दै ३ दिनको समय दिएर पत्राचार गरेको र १८ गतेभित्र स्पष्टीकरण बुझाउनुपर्ने पत्र आफुले २४ गते मात्र पाएको उनले बताए । आफुलाई चित्त नबुझेर चुप लागेर बसेको अवस्थामा पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेर केही व्यक्तिहरुले पार्टी छोडोस् भन्ने मनसाय राखेको भन्दै उनले सोही कारण सुनसरी जिल्ला कमिटी सदस्यबाट राजिनामा दिएको बताए ।

‘म केही नगरी चुप लागेर बसेको थिएँ, कसैको प्रचार गरेको थिइन, भोट मागेको थिइन,’उनले भने,‘पार्टी छोडोस् भन्ने नै लागेर स्पष्टीकरण पत्र पठाएको होला । नत्र जिल्ला अध्यक्ष वा केन्द्रका नेताहरुले सोध्न सक्थ्यो नि ।’ अधिकारी गएको ७ औं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निवार्चित भएका थिए । नेताको स्वार्थको लागि आफ्नो आस्थालाई मार्न नसक्ने भएकोले जिल्ला कमिटी सदस्यबाट राजिनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन् ।

सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमालेले जयकुमार राईलाई सर्वसम्मत उम्मेद्वार सिफारिश गरेको थियो । तर, अन्तिम समयमा जसपासँग तालमेल हुँदा एमाले पहिलो पटक सुनसरी १ मा उम्मेद्वारविहिन भएको छ भने यहाँ जसपाका नेता अशोककुमार राई उम्मेद्वार छन् । यो तालमेलबाट असन्तुष्ट भएका नेता, कार्यकर्ताहरुले धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोलाई स्वतन्त्र उम्मेद्वार बनाएका छन् । मेन्याङ्बोको लागि प्रचार अभियानमा लागेका प्रदेश १ कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० जनालाई एमालेले साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिसकेको छ । 

rabin1

rabin2