धरान: नेकपा एमाले र जसपाबाट सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफुलाई जिताएर पठाए ५ बर्षसम्म मतदाताहरुलाई पश्चाताम हुन नदिने बताएका छन् ।

बिहिबार धरानको भानुचोकमा आयोजित अन्तिम चुनावीसभालाई सम्बोधन गर्दे राईले सयौं पटक सोचेर मात्र मतदान गर्न पनि आग्रह गरे । चुनावमा भोट हाल्नु भनेको आफ्नो प्रतिनिधि छान्नु अथवा वारेस दिनु भएकोले सोचेर मात्र मतदान गर्न उनको आग्रह थियो । उम्मेद्वार राईले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ सेवा उपलब्ध हुन गरि समग्र विकास गर्न पहल गर्ने पनि बताए । ‘यहाँका स्थानीयले उपचार पाउन सकुन्, स्वस्थ जीवन बाँच्न सकुन् भन्ने जनताको अपेक्षामा काम गर्नेछौं, व्यवस्थापनको सुधार र बजेटको प्रवाहमा हाम्रो ध्यान रहने छ,’ उनले भने ।

विगतमा धरान थोक व्यापारको केन्द्र भएपनि अहिले खस्किएको भन्दै उनले बजारलाई पुनस्थापित गर्ने आफ्नो एजेण्डा रहेको पनि बताए । कोशी राजमार्ग अनिवार्यरुपमा अघि बढ्नुपर्ने भन्दै उनले तीनकुनेदेखि जिरोप्वाइन्टको समस्या जनताको हित र चाहानाअनुसार हल गर्ने पनि बताए । धरान लेउतीको सुरुङ मार्ग एमाले सरकार भएको बेला घोषणा भएको र विस्तृत अध्ययन पनि भइसकेको यहाँ तमोर करिडोर पनि जोडिएपछि ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, खोटाङ र भोजपुर लगायतका भेगका व्यापारको केन्द्र फेरि धरान हुने उनले बताए ।

विकासको लागि सडक निर्माण सबैभन्दा महत्वपूर्ण भएको भन्दै उम्मेदवार राईले निर्वाचन क्षेत्रमा कच्ची सडक पर्याप्त भए पनि हर्दियादेखि रामधुनीसम्म र बराहक्षेत्रदेखि कालाबन्जारसम्मका सबै कच्ची सडकलाई पक्की बनाउन आफ्नो प्राथमिकता रहने बताए । यस्तै, मदन भण्डारी राजमार्ग पूरा गर्ने, धरानका वरिपरिका जिल्ला र पालिकासँग धरानलाई जोड्ने र त्यहाँका कृषि उपज र सुविधा उपभोग आदनप्रदान गर्ने गरि निर्वाचन क्षेत्रको विकास गर्ने पनि उनले बताए । 

यसैगरि, तीनकुने औद्योगिक क्षेत्र र वडा नं. ६ मा औद्योगिक ग्रामलाई सडक, बिजुली, पानीलगायतका पूर्वाधार विकास गर्ने उनले बताए भने निजी क्षेत्रको लगानी भित्राउने र प्रदेश सरकारलाई प्रोत्साहित गर्ने योजना रहेको बताए । औद्योगिक ग्राम र औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न सके चार पाँच हजार जनालाई रोजगार दिन सकिने उम्मेदवार राईको भनाइ छ । 

यो क्षेत्र पर्यटनको राम्रो सम्भावना भएकाले यस क्षेत्रको साकार बनाउन लागिपर्ने राईले बताए । धार्मिक पर्यटनका लागि यो निर्वाचन क्षेत्र देवस्थलहरुले अंकमाल गरेर राखेको जस्तो देखिएकाले यसको समुचित विकास गरेर धार्मिक सर्किटका रुपमा विकास गर्ने बताए । 

'पतन भएकाहरुले स्वतन्त्रको नाममा खेलोफड्को गरे '

amale11

एमाले जसपा तालमेलबाट सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार राईले स्वतन्त्रका रुपमा आएका केही उम्मेदवारहरु पतनको बाटो लागेको आरोप लगाए । उनले कतिपय उम्मेदवारहरु आर्थिक, सांस्कृतिक रुपमा पतन भएको र खेलोफड्को गर्न आएको दाबी गरे । 

उम्मेदवार राईले सुनसरी क्षेत्र नं. १ मा वास्तविक स्वतन्त्र नदेखिएको प्रष्ट पारे । स्वतन्त्र भन्दै निर्वाचनमा उठ्नेहरु दलसँग स्वार्थ नमिल्दा कारबाहीमा पर्नेहरु, नैतिक पतन भएकाहरु र आर्थिकरुपले बिग्रिएकाहरु च्याँखे थाप्न आएको बताए । जसपाका उम्मेदवारहरु नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपालको महान् लक्ष्यमा समाहित भएकाले हातेमालो गरिएको पनि उम्मेदवार राईले बताए । 

१६५ निर्वाचन क्षेत्रबाट नै प्रचण्डले मन्त्री बनाउने ?

amale9

निर्वाचनमा सांसद जयकुमार राईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई १६५ क्षेत्रका सबै सांसदलाई मन्त्री बनाउने ? भन्दै प्रश्न गरेको छ । हिजो बुधबार लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना उम्मेद्वारलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए । त्यसलगत्तै उनले भोजपुरमा पनि पुगेर उम्मेद्वारलाई मन्त्री बनाउने वचन दिएका थिए ।

पुर्वसांसद राईले मन्त्रीको क्षेत्रमा मात्र विकास हुने कुरालाई अस्वीकार गर्दै विकासको नीति निर्माण गर्दा समानुपातिक विकास गर्न प्रचण्डलाई सुझाव दिए । उनले एमाले सरकारको पालामा समानुपातिक विकास निर्माणलाई जोड दिइएको दाबी गर्दै स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, राष्टिय गौरवका आयोजना नेकपा एमालेले ल्याएको बताए । 

यस्तै, उनले सत्ता गठबन्धनका तर्फबाट सुनसरी क्षेत्र नं. ४ का लागि प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जनतालाई झुक्याएको पनि बताए । सुनसरी १ मा रहेको रणनीतिक सडक निर्माणमा पहल गरेको भन्दै मन्त्री कार्कीले झुठो प्रचार गरेको राईले बताए । 

उनले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आफ्नो लेटरप्याड प्रयोग गरी योजना माग गरेको र काम सुरु हुनै लाग्दा गठबन्धनको सरकारले काम रोकेको जिकिर गरे । ठेक्का प्रक्रिया सकेर काम अघि बढाउनुुपर्ने सत्ता गठबन्धन आफै बाधक बनेको बताउँदै सांसद राईले मन्त्री कार्कीले आफूले योजना पारेको भन्दै जनतामा भ्रमको खेती गरेको आरोप लगाए । उनले विकास भएन भन्नेहरुलाई विकासको नमूना हेर्न गाउँमा जान अनुरोध पनि गरे ।