धरान: कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुसँग विवाद बढ्दै गएर निरन्तर बैठकसमेत अवरुद्ध भएपछि धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङलाई संवाद र सहकार्य गर्न सुझाव दिएका छन् ।

विभिन्न ६ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नेतृत्वको हैसियतामा समस्या समाधानको लागि पहल कदमी र अभिभावकीय भुमिका निर्वाह गर्न मेयर साम्पाङलाई सुझाव दिएका छन् । तर, मेयरले आफ्नो भुमिका निर्वाह गर्न छोडेर पत्रकार सम्मेलन गरि कार्यपालिका सदस्यहरुलाई धम्क्याउने शैलीमा राजिनामा दिनु भन्ने शब्द प्रयोग गरेकोमा पनि दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

राजनीतिक दलहरुले मेयर साम्पाङले केवल आफुलाई प्राप्त मतलाई बहुमत भन्दै दम्भ राखेर आफुजस्तै जननिवार्चित जनप्रतिनिधिहरुको राजिनामा माग गर्नु कुन नैतिकता हो ? विज्ञप्तीमा प्रश्न पनि गरेका छन् । ‘समस्या समाधान गर्नु छोडेर नेतृत्व आफै प्रतिवादमा उत्रने कार्यले धरानबासी जनताहरुले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहनार्ला कुठराघात गरेको हाम्रो ठहर छ, यसले समस्या समाधान गर्नु भन्दा बल्झाउने गर्छ,’विज्ञप्तीमा भनिएको छ,‘तसर्थ नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई संवाद र छलफलद्धारा समस्याको समाधान खोज्न र सामुहिक नेतृत्वसहित समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न सुझाव प्रस्तुत गर्न चाहन्छौं ।’

राजनीतिक दलहरुले गत असोज १३ गते कार्यपालिका बैठकको एजेण्डामाथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राख्न नदिई बैठक छोडेर बाहिर जान भनेपछि सम्पुर्ण कार्यपालिका सदस्यहरुले आफुहरुको अपमान भएको महशुस गर्नु स्वभाविक भएको पनि बताएका छन् । लोकतान्त्रिक व्यवस्थाबाट निवार्चित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घटनाले धरानमा स्वेच्छाचारी, अप्रजातान्त्रिक, सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उदण्डसहितको अधिनायकवाद उदय हुन लागेको आभाष भएको पनि राजनीतिक दलहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

press-release