धरान: पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले कोशी राजमार्गलाई ६ लेन बनाउन पहिल्यै मुआब्जा लिइसकेको भन्ने आरोपमा प्रतिवाद गर्दै प्रमाण भए डोजर ल्याएर घर भत्काउन चुनौती दिएका छन् ।

धरान उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको सर्वपक्षीय छलफलमा केही वक्ताहरुले मुआब्जा लिइसकेको अभिव्यक्ति दिएपछि त्यसको प्रतिवाद गर्दै पुर्वमेयर मेन्याङ्बोले यस्तो चुनौती दिएका हुन् । ‘क्षतिपूर्ति दिएको कुरा उठ्यो । कुन निकायले क्षतिपूर्ति दियो ? कस्ले क्षतिपूर्ति प्राप्त गर्यो ? हाम्रो पिता पुर्खाले कोशी सडकको नाममा कुनै क्षतिपूर्ति प्राप्त गरेको छैन,’उनले भने,‘कुनै निकायले दिएको छ भने, ग्रहण गर्ने हाम्रा पुर्खाहरु छन् भने प्रमाणकोरुपमा ल्याइयोस् । जर्बजस्तढंगले राजमार्गको जग्गालाई हाम्रो जग्गा भनेर बसेको ठहर गर्छ भने डोजर ल्याएर भत्काइयोस् । अन्थया अर्काको सम्पत्तिमाथि धावा बोल्ने अधिकार कसैलाई छैन ।’

मेन्याङ्बोले तीनकुनेदेखि जिरोपोइन्टसम्मको सडक कोशी राजमार्गको प्रस्ताविक सडक मात्र भएको पनि खुलाए । उनले आफ्नो मेयरको कार्यकालसम्म धरानभित्र कुनै राजमार्ग नभएको दाबी गर्दै तीनकुनेदेखि जिरोपोइन्टसम्मको सहरी सडक मात्र भएको बताए । ‘त्यसैले गर्दा यो सडकको मापदण्ड ७२ फिट र ५० फिट गरेका हौं । यो मापदण्ड पनि कुनै सडक विभागले आएर गरेको होइन, नगरपालिकाले गरेको हो,’उनले भने । उनले सार्वजनिक जग्गा मिचेको, राजमार्गको जग्गा मिचेर बसेको जस्तो देखाउने दृष्टता कसैले गर्न पनि आग्रह गरे ।

७२ फिट बनाउन प्रस्ताव

manoj

पुर्वमेयर मेन्याङ्बोले तीनकुनेदेखि जिरोपोइन्टसम्मको सडक अहिलेकै अवस्थामा भने राख्न नहुने बताए । उनले सडकका दाँया र बाँया घर भएका बासिन्दाहरुलाई बिशेष आह्वान गर्दै २ लेनको बाटोले धरानको विकास सम्भव नभएको पनि बताए । ‘धरानको केही सडकहरु ४ लेनको हुनैपर्छ, ७२ फिटको बनाउनै पर्छ,’उनले भने,‘तीनकुनेदेखि जिरोपोइन्ट मात्र होइन, रेल्वेदेखि भोटेपुल, रेल्वेदेखि जिरोपोइन्ट पनि ४ लेनको हुनुजरुरी छ । अन्यथा धरान पुरानो र खण्डहर सहरकोरुपमा स्थापित हुन्छ, धरान अन्धकार हुन्छ ।’

पुर्वमेयर मेन्याङ्बोले सरकारले उचित क्षतिपूर्ति दिएर बजार क्षेत्रमा ७२ फिटको सडक योजना अघि बढाउनुपर्ने पनि धारणा राखे । अन्यथा धरान स्वयम बाइपास भएर विकासमा पछि पर्ने उनले बताए । ‘अहिले ५० फिट सडक छ । अब २२ फिट बढाउन दाँया र बाँया ११/११ फिट छोड्नुपर्ने हुन्छ, घर भत्काउनुपर्ने हुन्छ । त्यसको लागि उचित क्षतिपूर्ति दिएर जानुपर्छ । नगरपालिका, राजनीतिक पार्टी लाग्न जरुरी छ,’उनले भने । 

सेउती र सर्दुमा करिडोर बनाउनुपर्छ

पुर्वमेयर मेन्याङ्बोले सर्दु र सेउती खोलामा बासपास करिडोरको कुरा उठिरहेको भन्दै त्यसक्षेत्रलाई तटबन्ध गर्नुपर्ने पनि धारणा राखे । उनले तटबन्ध गरेर बाइपास सडक करिडोर बनाउदा धेरै जग्गा पनि निस्कने र असर परेको सुकुम्बासी बस्तीहरुलाई १०/१० धुर जग्गा उपलब्ध गराएर सिटी प्लानिङ गर्न सकिने पनि बताए ।

पुर्वमेयर मेन्याङ्बोले भने, ‘सर्दु र सेउतीको समस्याबाट सदाको लागि पार पनि पाउछौ । ग्रिन बेल्ट बन्छ र रिंग रोड पनि बन्छ । मेयर, उपमेयर र सिंगो नगरपालिका लाग्ने हो भने असम्भव म देख्दिन ।’

भिडियो: