धरान: कोशी प्रदेशको विरोधमा आज विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप भएको छ । 

कोशी प्रदेशको विरोधमा पहिचान पक्षधरहरुले सांसदहरु सहभागी हुने कार्यक्रमस्थलअघि घेराउ र प्रर्दशन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । उक्त झडपको क्रममा १३ जना प्रर्दशनकारीहरु घाइते भएको किरात राई यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइदैछ ।

मुख्यमन्त्री कार्यालय नजिकै बिग होटलमा प्रदेशका सांसदहरु युएनडिपीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने जानकारी पाएपछि पहिचान पक्षधरहरु त्यसतर्फ गएका थिए । उनीहरुले पहिचानको विरोधमा कोशी प्रदेशमा मत दिने सांसदहरुलाई उक्त कार्यक्रममा प्रवेश गर्न नदिने उद्देश्यले गएका थिए । त्यसक्रममा प्रहरीसँग झडप भएको थियो । प्रहरीले हवाई र अश्रुग्याँस पनि प्रहार गरेको थियो ।

koshi wirod1

पहिचानको आधारमा प्रदेश नम्बर १ को नाम राखिनुपर्ने मागसहित आन्दोलन जारी रहदारहदै प्रदेशसभाबाट कोशी नामकरण अत्यधिक बहुमतले पारित भएको थियो । जसपाबाहेक कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाले कोशीमा मतदान गरेको थियो । कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा चैत्र ५ गते विराटनगरमा वृहत प्रर्दशन हुँदा प्रहरीको लाठी प्रहारबाट पदम लिम्बु (लाजेहाङ) को टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा वीपी प्रतिष्ठानमा चैत १० गते निधन भएको थियो । 
koshi wirod2

koshi wirod4