धरान: कोशी प्रदेश नामकरण खारेजको आन्दोलनमा घाइते भइ निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा नगरि प्रदेश सरकारले ३ लाख राहत दिने निर्णय गरेकोप्रति आन्दोलनरत पक्षले रोष प्रकट गरेको छ । 

आन्दोलनरत पहिचान पक्षधरहरुले मृतक लिम्बुलाई सहिद घोषणा गर्न माग गरिरहेका छन् । मुख्य माग सम्बोधन नगरि प्रदेश मन्त्रीपरिषद बैठकले सोमबार मृतक परिवारलाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको थियो । मृतक लाजेहाङको शव अझै पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आन्दोलन र परिवारजनले शव बुझेका छैनन्, साथै पोष्टमार्टम पनि हुन सकेको छैन ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङ्वाले पनि लाजेहाङलाई सहिद घोषणा, परिवारजनलाई उचित क्षतिपूर्ति र १ नम्बर प्रदेशको नाम कोशी खारेज नभएसम्म आन्दोलन जारी नै रहने बताए । माग पुरा भएपछि मात्र शवलाई जातीय सँस्कार अनुसार व्यवस्थापन गर्ने पनि उनले बताए । प्रदेश सरकारले ३ लाख राहत दिने र छानबिन समितिको आधारमा निर्णय गर्ने भन्नु आन्दोलन र साहदतको अवमुल्यन भएको पनि कडा टिप्पणी गरे । उनले प्रदेश सरकार गम्भीर छैन भन्ने प्रष्ट भएको पनि बताए । 

koshi wirod2

यसैगरि, उनले छानबिन समिति पनि सैद्धान्तिक मुल्य मान्यता विपरीत भएको बताए । समितिमा आन्दोलनकारीको संलग्नता नभएको र राज्यको कर्मचारीको संयोजकत्वमा एकपक्षीय रहेको पनि बताए । ‘जुन पक्षसँग झडप भयो, उनीहरुकै तालुक अड्डाको कर्मचारीहरु नेतृत्वमा छानबिन समिति छ । त्यसको रिपोर्ट निष्पक्ष आउछ भन्ने सोच्न सकिदैन,’उनले भने,‘त्यसले आन्दोलनलाई तुहाउने, हतोत्साहित बनाउने, मागलाई खिसिट्उिरी गर्ने गरिएको छ । स्वतन्त्र व्यक्ति वा राज्यले मन्त्रीको संयोजकतवमा पनि गर्न सक्थ्यो, आन्दोलनरत पक्षका प्रतिनिधिहरु, मानवअधिकार आयोगका सदस्यहरु राख्दा राम्रो हुन्थ्यो । ’

यसैगरि, आन्दोलनरत संघीय लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले प्रदेश सरकारले ३ लाख रुपैया दिएर सहानुभुति देखाउन खोजेर आलमलाउन खोजेर गलत निर्णय गरेको बताए । उनले लाजेहाङलाई राष्ट्रिय सहिद घोषणा नगरेसम्म निरन्तर आन्दोलन गर्ने र दमन भइरहे शव मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री आवास वा निजी निवासमा लगेर धर्ना, प्रर्दशन पनि गर्ने चेतावनी दिए । सरकारले गृहमन्त्रालयका कर्मचारीको नेतृत्वमा छानबिन समिति बनाए पनि त्यससँग सरोकार नभएको र आन्दोलनलाई कमजोर बनाउने सरकारको षडयन्त्र भएको पनि उनले बताए । 

चैत ५ गते मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउको क्रममा प्रहरीसँगको झडपमा लाजेहाङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीपी प्रतिष्ठानमा निधन भएको थियो । आज पनि मुख्यमन्त्री कार्यालय नजिकै बिग होटलमा प्रदेश सांसदहरु युएनडिपीको कार्यक्रममा सहभागी हुने भएको जानकारी पाएपछि आन्दोलनरत पक्ष विरोध जनाउन पुगेका थिए । त्यसक्रममा झडप हुँदा १३ जना घाइते भएका छन् । ती मध्ये ७ जनाको वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

भिडियो: