धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा समावेश गरि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै विभिन्न योजनाहरु लिएर मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा राजधानीमा छन् ।

उपमहानगरपालिकाका कर्मचारीहरुसहित राजधानी पुगेका मेयर, उपमेयरको टोलीले आज सोमबार खानेपानी मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर योजनाहरुको सुची समावेश फाइल बुझाएका छन् ।  यस्तै, आजै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई पनि भेटेर सबै मन्त्रालयमा पेश गर्ने योजनाहरुको सुची बुझाउदै आगामी बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न माग गरेको छ । यो टोलीले भोली मंगलबार विभिन्न एक दर्जन मन्त्रालयहरुमा पुगेर योजनाहरुको लागी बजेट माग गर्ने कार्यक्रम रहेको छ । टोलीले प्रधानमन्त्री दाहाललाई भने सबै मन्त्रालयमा पेश गरिने योजनाहरु बुझाएको हो । 

प्रधानमन्त्रीसमक्ष बुझाएको योजनाहरुको सुचीमा सबैभन्दा पहिलो बुँदामा कोशी नदीबाट खानेपानी धरानमा ल्याउने योजना रहेको छ । धरानमा खानेपानीको अभाव प्रमुख समस्या भएकोले दीर्घकालिन समाधानको लागी कोशी नदीबाट पानी ल्याउनुपर्ने भएकोले बजेट विनियोजन गर्न माग गरिएको छ । उक्त योजनाको डिपिआर तयार भइरहेको पनि उल्लेख छ ।

यसैगरि, दोस्रो बुँदामा धरानको वडा नं २० स्थित बाँनियाटारमा जलाशय निर्माण गर्ने योजनाको लागी पनि बजेट माग गरिएको छ । बर्खाको समयमा सर्दु र खर्दु खोलामा भएको पानीलाई जलाशाय बनाई संचित गर्न सकेको खण्डमा सुख्खा याममा कम्तीमा ४ महिनालाई पुग्ने पर्याप्त खानेपानी रहने भएकोले उक्त आयोजनाको बिशेष महत्व रहेको पनि योजनाको विवरणमा उल्लेख छ । यो आयोजनाको लागी करिब डेढ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसैगरि, विद्यमान खानेपानी संरचना सुधार गर्नको लागी पम्प तथा मोटर खरिद गर्न पनि बजेट माग गरिएको छ । धरानको विद्यमान खानेपानी संरचनामा सबैभन्दा समस्याग्रस्त संरचना पानी तान्ने पम्प तथा मोटरहरु भएकोले समयमा नै परिवर्तन गर्नुपर्ने भएकोले बजेट माग गरिएको हो । विगतमा खानेपानी मन्त्रालयसमेतको सहभागितामा संघीय सहरी विकास मन्त्रालयबाट गठित विज्ञ टोलीको सुझावलाई समेत मध्यनजर गरि ती पम्प तथा मोटरहरु खरिद गरि खानेपानी आपूर्तिलाई सहज गर्न जरुरी देखिएको उल्लेख छ । उक्त समितिको सुझाव अनुसार पम्प तथा मोटर खरिद गर्न करिब १० करोडको लागत अनुमान लाग्ने देखिएको छ । 

धरानको टोलीले भानुचोकमा रहेको सार्वजनिक सौचालय पुनःनिर्माण गर्न पनि बजेट माग गरेको छ । यसको लागी करिब ५० लाख बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको पनि उपमहानगरपालिकाले जनाएको छ । यस्तै, धरानको ठोस फोहोरहरुलाई व्यवस्थितरुपमा व्यवस्थापन गर्न ल्याण्डफिल साइट निर्माणको लागी पनि बजेट विनियोजन गर्न माग गरिएको छ ।

हाल चारकोसे जंगल क्षेत्रमा पर्ने सेउती खोलाको बगरमा फोहोरलाई साधारणतरिकाले व्यवस्थापन गरिदै आएको छ । यसले वातावरणलाई, तल्लो भेगका बासिन्दालाई र कोशी राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणहरुलाई प्रदुषणबाट असर पुग्ने भन्दै आलोचना पनि भइरहेको छ । यो समस्या हल गर्न व्यवस्थित ल्याण्डफिल साइट आवश्यक भएकोले सामुदायिक वनबाट अनुमति प्राप्त भएर हाल संघीय खानेपानी मन्त्रालयबाट अध्ययन पनि भइरहेको उल्लेख छ । 

यस्तै, धरानको वडा नं ४ स्थित खांकरडाँडा खानेपानी मर्मत तथा टंकी निर्माण गर्न पनि बजेट माग गरिएको छ । खाकर डाँडा वडा ४ को विकट बस्ती हो । त्यहाँको खानेपानी आवश्यकता परिपूर्ति गर्न यो आयोजना सहायकसिद्ध हुने र यसको लागी करिब ७० लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वको टोलीले वडा ४ कै देवीथानमा खानेपानी आवश्यका परिपूर्ति गर्न पम्पिङ आयोजनाको लागी पनि बजेट माग गरेको छ । यसको लागी पनि करिब ७० लाख बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

yojana

yojana1