धरान: कोकाहाको पानी धरान ल्याउने बिषयमा धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच सहमति भएको छ । 

जिल्ला समन्वय समिति सुनसरी सभापति राजन मेहताको रोहबरमा बराहक्षेत्र नगरपालिकामा शनिबार भएको वार्तामा सहमति जुटेको हो । यद्यपी, सहमतिलाई लिखितरुपमा अन्तिमरुप भने २ दिनभित्र गर्ने सहमति भएको छ । दुवै पालिकाबाट २÷२ जनाको कार्यदल बनेर सहमतिलाई अन्तिम रुप दिएर सम्झौता गर्ने सहमति भएको वार्ता पश्चात आयोजित पत्रकार सम्मेलनमा बराहक्षेत्रका मेयर रमेश कार्कीले जानकारी दिए ।

‘हाम्रो मागहरुलाई सहर्ष स्वीकार गर्नुभएको छ, र २ दिनभित्र लिखित सम्झौता गर्ने सहमति छ,’ मेयर कार्कीले भने,‘हाम्रो तर्फबाट २ जनाको समिति बन्छ, धरानले पनि संस्थागत २ जनालाई जिम्मेवारी दिनुहुन्छ, र हाम्रो मागबारे सम्झौता हुन्छ ।’ 

baraha-dharan

धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले बराहक्षेत्रको माग जायज रहेको र २ दिनभित्र लिपिवद्ध गर्ने बताए । बराहक्षेत्रले रोयल्टी माग गरेको बिषयमा पनि उनले सल्लाह भएको र २ दिनभित्र सम्झौता भएपछि जानकारी दिइने उनले बताए । यस्तै, अमाहा सिमसार धरानमा परेको भन्ने बिषयमा बराहक्षेत्रले जोडले कुरा राखेको जानकारी दिदै उपमेयर बेघाले आफुहरुको त्यस्तो अभिव्यक्ति नभएको र बराहक्षेत्रले नै चर्चेको पनि बताए । उक्त पत्रकार सम्मेलनमा धरानका मेयर हर्क साम्पाङले भने बोलेनन् । वार्ताको क्रममा नै धरानका मेयर साम्पाङले नबोल्ने समझदारी भएको बताइएको छ ।