धरानः प्रदेशको नाम कोशी खारेजीको आन्दोलनको क्रममा पक्राउ परेका २७ जना नेता, कार्यकर्ताहरु रिहा भएका छन् । 

पक्राउ परेकाहरु विना सर्त रिहा नभए बुधबारदेखि आमहडताल गर्ने चेतावनी आन्दोलनरत पक्षले दिएपछि मंगलबार साँझ सबै रिहा भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का उपाध्यक्ष अशोक चेम्जोङ्गसहित २७ जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेपनि छोडेको थिएन । पक्राउ परेका आन्दोलनकारीहरुलाई मुद्दा चलाउने तयारी गरेको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले उनीहरुलाई रिहा नगरे बुधबारदेखि प्रदेशभर आम हडतालको चेतावनी दिएका थिए । 

रिहा भएका आन्दोलनकारीहरुलाई वडा प्रहरी कार्यालय विराटनगरमा फुल माला र अविरल लगाएर स्वागत गरिएको थियो ।  त्यसक्रममा उनीहरुले कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण गर, पहिचान विरोधी होसियारलगायतका नाराबाजी गरेका थिए । 

koshi andolan1

कोशी प्रदेशको नाम खारेज गरेर पहिचानको आधारमा नामकरण नभएसम्म आन्दोलन जारी रहने आन्दोलनरकारीहरुले बताएका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले बुधबार पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । मंगलबार साँझ रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई रहेका छन् । 

यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम पनि रिहा भएका छन् ।