धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्र प्रसाद (वीपी) दाससहित ३ जना पुर्वपदाधिकारीहरुलाई भ्रष्टचारमा कैद र जरिवाना सजाय भएको छ । 

बिशेष अदालतका न्यायाधिश बलभद्र बास्तोला र डा.खुशीप्रसाद थारुको इजलाशले बिहिबार पुर्वउपकुलपति डा.दास, अस्पताल निर्देशक प्रा.डा.अरबिन्द सिन्वा र पुर्वरजिष्ट्रार नन्दकुमार थापालाई कैद सजाय गर्ने फैसला गरेको हो । बिशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तीन जनाले भ्रष्टचार गरेको ठहर गर्दै जनही १ बर्ष कैद र २५ हजार जरिवाना हुने फैसला भएको छ । 

प्रवक्ता योगीका अनुसार भ्रष्टचार मुद्दामा अन्य ५ जनाले भने सफाइ पाएका छन् । सफाई पाउनेमा प्रतिष्ठानका पुर्वरजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, प्रतिष्ठानको लेखाका कर्मचारी दिनेशराज दाहाल, व्यापारीहरु चेतन अग्रवाल र उमेशकुमार अग्रवाल छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार गरि संस्थानलाई नोक्सानी पुर्याएको भन्दै उनीहरुविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।