धरान: सधैं झै यसबर्ष पनि धरानमा खानेपानीको चरम अभाव देखिएको छ । खडेरी लम्बिदै जादा खानेपानी व्यवस्थापन बोर्डले पानी आपूति र सहज वितरण गर्न नसक्दा नगरबासी काकाकुल अवस्थामा पुगेका छन् । 

बोर्डले पानी वितरण गर्न नसकेपछि नगरबासीहरुले निजी ट्यांकरबाट महंगो मुल्यमा पानी किनेर पिउन बाध्य छन् । पानीको माग धेरै भएपछि निजी ट्यांकरहरुले पनि पानी बिक्री गर्न भ्याएका छैनन् । पीडित नगरबासीहरुका अनुसार निजी ट्यांकरबाट पानी खरिद गर्न सम्पर्क गर्दा ४, ५ दिन पछि मात्र पालो आउने बताइरहेका छन् । खानेपानी बोर्डको ट्यांकरले विभिन्न टोलहरुमा सामुहिकरुपमा पानी वितरण गरेर नगरबासीको प्यास मेटाउने प्रयास गरेपनि माग धान्न सकेको छैन ।

पानीको चरम अभाव भोगिरहेका धरानबासीहरुले दिनहुँ मेयर साम्पाङलाई पानीको माग गर्दै डेलिगेशन पनि गइरहेका छन् । हिजो बिहिबार वडा १२ का जनप्रतिनिधिसहित वडाबासीहरु पानी माग गर्दै मेयर साम्पाङलाई भेट्न गएका थिए भने आज दिनभर जसो विभिन्न वडाका जनताहरु पनि मेयर साम्पाङलाई पानी माग्दै उपमहानगरपालिकामा पुगेका थिए । 

water crisis1

वडा नं ३ जल्पा रोडका जनताहरु खाली बाल्टी लिएर पानी माग गर्दै मेयर साम्पाङको कार्यालय घेराउ गर्न पुगेका थिए । उनीहरुले भल्व मर्मत गर्न निवेदनसमेत दिएपनि वेवास्ता गरिएको भन्दै आक्रोशसमेत पोखे । जल्पा रोडमा १० दिनदेखि पनि पानी नआएको स्थानीयको गुनासो थियो ।

यस्तै, वडा नं ९ का वडाअध्यक्ष रुपेश आचार्यसहित वडाबासीहरु पनि आफ्नो पालोमा समेत पानी नआएको भन्दै आक्रोश पोख्न पुगेका थिए । कर्मचारीलाई फोन गर्दा मेयरलाई नै भन्नु भन्ने जवाफ आएकोले मेयर साम्पाङलाई पानी नआएको गुनासो गर्न पुगेको उनीहरुको भनाई थियो । वडा नं १५ को विभिन्न टोलबाट पनि जनता पानी माग्दै उपमहानगरपालिकामा पुगेका थिए । उनीहरुले ट्यांकरमा भएपनि पानी चाडो पठाइदिन मेयर साम्पाङलाई माग गरेका थिए ।

पानी परेन, बिहे गरिदिन भ्यागुता खोज्दैछु : मेयर साम्पाङ

water crisis2

मेयर साम्पाङले पानी नपरेर लामो समय खडेरी भएकोले खोला सुकेको र जंगलको वेलमा पनि पानीको सतह घटेको कारण खानेपानी अभाव भएको बताएका छन् । पछिल्लो समय वीपी प्रतिष्ठानको पनि पम्प बिग्रदा पानी अभाव भएको र हस्पिटल सेवा प्रभावित नहोस् भनेर पठाउदा नगरबासीहरुको पालो अनुसार पानी वितरण हुन नपाएको मेयर साम्पाङको भनाई थियो ।

उनले पानी नपरेको कारण जमिन मुनि पानीको सतह रिचार्ज नभएकोले पनि जंगलमा वेलको पानीको सतह घटेको बताए । भ्यागुताको बिहे गरिदिदा पानी पर्छ भन्ने मान्यता रहेको भन्दै मेयर साम्पाङले भ्यागुताको खोजी आफुले पनि गरिरहेको बताए । प्रकृति कसैको पनि वसमा नभएको भन्दै उनले पानीको समस्या हल गर्न आफुले सकेको काम गरेको पनि दाबी गरे । 

अब सप्तकोशीबाट पानी नल्याएसम्म समस्या समाधान नहुने भन्दै मेयर साम्पाङले राती २,३ बजे उठेदेखि निरन्तर पानी वितरणलाई सहज बनाउन लागिपरेको र कर्मचारीहरु पनि खटिएको बताए । कोकाहाको पानी परिक्षण भइरहेको भन्दै उनले चाडो धरान ल्याएर वितरण गर्ने बताए । 

भिडियो:

भिडियो: