धरान : धरान खानेपानी व्यवस्थापन बोर्डका चार जना सदस्यहरुले आफुहरुले मेयर हर्क साम्पाङले पानी लागि गरेको सबै खाले प्रयास र प्रयत्नलाई विरोध नगरेको प्रष्ट्याएका छन् ।

शुक्रबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मेयर साम्पाङले जनश्रमदानबाट कोकाहा खोलालगायत अन्य मुहानबाट पानी ल्याउन गरेको अथक प्रयास र मेहनतलाई धन्यवाद पनि दिएका छन् । साथै उनीहरुले आफुहरुले मेयर साम्पाङविरुद्ध मुद्दा नहालेको दाबी गर्दै खानेपानी बोर्डको बैठक राख्न मात्र माग गरेको पनि बताएका छन् । पत्रकार सम्मेलन गर्नेहरुमा खानेपानी बोर्डका सदस्य सुर्यबहादुर भट्टराई (मनोज), श्याम पोखरेल र सुनसरी उद्योग वाणिज्य संघ रहेको छ । अर्का बोर्ड सदस्य देवराज श्रेष्ठ भने अनुपस्थित थिए ।

आफुहरु पनि बोर्डको सदस्य भएकोले बैठक बोलाउन कार्यकारी समितिका सचिव एवं निर्देशकलाई पटक पटक मौखिक र लिखित पत्रमार्फत माग गरेपनि बौठक नबोलाएपछि मात्र कानुनी बाटो अपनाएको श्याम पोखरेलले बताए । उनले भने,‘तर यो मुद्दा होइन, बोर्ड बैठक बोलाउनको लागि आदेश पाउन भनि गरिएको निवेदन मात्र हो ।’

khanepani board1

आफुहरुको कार्यकाल भित्र भएका राम्रा वा नराम्रा सबै खाले निर्णयहरुको जिम्मा लिनुपर्ने भएकोले कार्यकाल समाप्त हुदै गर्दा सबै चुस्त दुरुस्त बनाएर जाने मनसायले बैठक माग गरिएको वडा नं १७ का अध्यक्षसमेत रहेका मनोज भट्टराईले बताए । एक बर्षअघिसम्म आफुहरुले बोर्ड सदस्यकोरुपमा अलग अलग जिम्मेवारी पाएर काम गरेको रेकर्ड संस्थामा भएको पनि उनले बताए । ‘हिजो वर्तमान मेयर साबले नै हामी खानेपानी बोर्डको सदस्य भनेर फोटो गाग्रीमा टाँसेर आन्दोलन गर्नुभएको थियो, अब अहिले होइन भन्न मिल्छ ?’ उनले भने,‘उहाँ पनि मेयरको हैसियतले पदेन बोर्ड सदस्य मात्र हो, बैठक बसेर अध्यक्षकोरुपमा पदस्थापन भएकै छैन ।’

हिजो (बिहिबार) मेयर साम्पाङले पत्रकार सम्मेलन गर्दै मुद्दा दायर गर्ने चार जना खानेपानी बोर्डको आधिकारिक सदस्य नभएको बताएका थिए । श्याम पोखरेल र मनोज भट्टराई जुन संस्थाबाट प्रतिनिधि भएर बोर्ड सदस्य भएका छन्, ती संस्था उपमहानगरपालिकामा दर्ता र सुचीकृतसमेत नभएको उनले बताएका थिए । यस्तै, देवराज श्रेष्ठको कार्यकाल सकिएको र सुनसरी उद्योग वाणिज्य संघमा नयाँ अध्यक्ष निवार्चित भएकोबारे जानकारी नै नआएको मेयर साम्पाङले बताए थिए ।

भट्टराईले भने आफुहरु जुन संस्थाबाट प्रतिनिधित्व गर्दै बोर्ड सदस्य भएको हो, उक्त संस्थाहरु नगरमा सुचीकृत नभएको सत्य भएपनि जिल्ला प्रशासन र समाज कल्याण परिषदलगायत निकायमा दर्ता रहेको आधिकारिक संस्था भएको जिकिर गरे । बोर्ड सदस्य हुन प्रतिनिधित्व गर्ने संस्था धरान उपमहानगरपालिकामा सुचीकृत भएको हुनुपर्ने भन्ने कानुनी प्रावधान नभएको पनि उनले बताए । 

मेयरलाई बोर्ड बैठक बसेर मात्र अध्यक्ष स्वीकार्नुपर्छ: पुर्वमेयर तिलक राई

धरान उपमहानगरपालिकाका पुर्वमेयर एवं बोर्ड अध्यक्ष तिलक राईले मेयर पदेन सदस्य मात्र हुने कानुनी प्रावधान रहेको र बोर्ड बैठकले अध्यक्षकोरुपमा स्वीकार गरेमा मात्र अध्यक्ष हुने बताए । आफु निवार्चित भएपछि बोर्ड बैठक बसेर नै अध्यक्षकोरुपमा सपथ लिएको पनि उनले बताए । ‘वर्तमान मेयर अध्यक्ष नै बन्न चाहदा पनि बोर्ड बैठक बसेर बन्नसक्नुहुन्छ,’उनले भने ।

खानेपानी बोर्डका सदस्यहरुले बोर्ड बैठक नराखी एकल निर्णय गरेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दामा अदालतले दुवै पक्षलाई छलफलमा बोलाउदै बैठक विना कुनै निर्णय नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

भिडियो: