धरान: धरानको फुस्रे हुदै साँगुरीगढी जोड्ने ऐतिहासिक बाटोमा निर्माण भएको पदमार्गको मंगलबार उद्घाटन गरिएको छ । 

संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त पदमार्गको मंगलबार मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष उपस्थिति रहेको थियो । उद्घाटनसँगै यो पदमार्गको नाम पनि श्रम सँस्कृति पदमार्ग घोषणा गरिएको छ । मेयर साम्पाङ र उपमेयर बेघा दुवैले मन्तव्यको क्रममा पुर्खाहरुले हिडेको बाटोलाई पदमार्गकोरुपमा विकास गरेर पर्यटकीय आकर्षण बनाउन चाहेको बताए । बजेटको लागि पहल गरेर पदमार्गलाई साँगुरीगढीसम्म पुर्याइने दुवैले बताए ।  

यो पदमार्ग धरान धनकुटा कोशी राजमार्ग निर्माण हुनुअघि धनकुटा, तेह्रथुम, संखुवासभालगायत पहाडी क्षेत्रका जनता ओहोरदोहोर गर्ने बाटोमा निर्माण गरिएको हो । धरानको फुस्रेमा किनमेल गर्न आउने र चिउरीबास, साँगुरी, धारापानी हुदै फर्कने गर्थे । ऐतिहासिक सोही बाटोलाई पर्यटकीय आकर्षण बनाउन पदमार्ग निर्माण गरिएको हो । 

saguri padmarga1

पदमार्ग निर्माणको लागि संघीय सरकारको बजेट, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाईबाट बजेट आएको थियो । चालु आर्थिक बर्षमा कुल ९७ लाख बजेट आएको र उक्त बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको हो भने ६० प्रतिशत वडा ४ मा बहुउद्देश्यीय भवन निर्माणमा लगानी गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राम लिम्बुले जानकारी दिए । 

उनका अनुसार पदमार्गको लागि छुट्टीएको ३८ लाख ८० हजार बजेटमा २६.५ प्रतिशत कटाएर २८ लाख ५१ हजार ८ सय प्राप्त भएको थियो भने २० प्रतिशत श्रमदान भएको थियो । वडा ४ को बहुउद्देश्यीय भवन पनि चाडै निर्माण सम्पन्न हुने उनले बताए । पदमार्ग ४६६ मिटर निर्माण गर्ने सम्झौता भएपनि ५१२ मिटर बनेको छ । ‘सम्झौतामा ढलाई मात्र थियो, तर ढुंगा पनि बिछ्याएका छौं,’अध्यक्ष लिम्बुले भने । 

भिडियो: