धरान: धरान उपमहानगरपालिकाले भोली आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउदैछ । 

धरान १० स्थित सैनिक भवनमा दिउँसो १ बजेको लागि नगरसभा आह्वान गर्ने निर्णय कार्यपालिका बैठकले गरिसकेको छ । नगरसभामा अघि बजेटको तयारी स्वरुप वडालाई पठाउने सिलिङ र बिषयगत समितिलाई पठाउने सिलिङबारे बिहिबार र शुक्रबार २ दिन कार्यपालिका बैठक बसेको थियो । बिहिबार बिषयगत समितिलाई सिलिङ मात्र तोकेर पठाउनुपर्नेमा ब्रेकडाउन नै गरिएको भन्दै वडाअध्यक्ष तथा बिषयगत समितिहरुले आपत्ति जनाएपछि बैठक स्थगित भएको थियो ।

शुक्रबार पनि बसेको कार्यपालिका बैठकले १ अर्ब ७१ करोड रुपैयाको बजेट ल्याउने एजेण्डालाई पारित गरिसकेको छ । साथै, वडा र बिषयगत समितिलाई पठाउने सिलिङ पनि अनुमोदन गरेको उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । अब भोली आइतबार बिहान वडा र बिषयगत समितिको ब्रेकडाउनलाई योजना तर्जुमा समितिको बैठकले पारित गरेर कार्यपालिका बैठकमा लगेर अनुमोन गरेपछि दिउँसो नगरसभामा पेश गरिने उपमेयर बेघाले जानकारी दिए ।

उनका अनुसार कार्यपालिका सदस्यहरुलाई प्रस्तावित आर्थिक विधेयक र विनियोजन विधेयक पनि दिइएको छ । कार्यपालिका सदस्यहरुबाट आएको सुझावहरुसहितलाई बैठकबाट अनुमोदन गर्ने र दिउँसो १ बजे नगरसभामा पेश गरिने बेघाले जानकारी दिए ।

भिडियो: