धरान:धरान उपमहानगरपालिकाले आइतबार नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको पहिलो प्राथमिकतामा खानेपानीलाई राखिएको छ भने पर्यटन तेस्रो प्राथमिकताको सुचीमा छ । तर, नगरसभामा प्रस्तुत गरिएको १ अर्ब ७१ करोडको बजेटमा पहिलो प्राथमिकताको खानेपानीलाई बजेट विनियोजना गरिएको उल्लेख छैन भने तेस्रो प्राथमिकतामा राखिएको पर्यटनलाई भने मात्र १० लाख विनियोजन गरिएको छ । 

उक्त बजेटले पहिलो प्राथमिकतामा खानेपानी, दोस्रोमा पुर्वाधार विकास, तेस्रोमा पर्यटन, चौथोमा कृषि, पाँचौंमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास र छ्रैटौ प्राथमिकतामा विपद व्यवस्थापनलाई राखेको छ । बजेटमा मेयर कोषको लागि १ करोड ५० लाख र उपमेयर कोषको लागि ७५ लाख विनियोजन गरिएको छ ।

कार्यपालिका बैठकमा धरानको वडागत बजेटतर्फ २० वटै वडाको प्रशासनिक, कार्यक्रम तथा पूँजीगत तर्फ आन्तरिक स्रोतबाट कुल २१ करोड विनियोजन गरिएको छ । शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ सशर्त अनुदानतर्फ ७ करोड ४ लाखसमेत कुल ४३ करोड ५१ लाख १५ हजार विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ कुल ४७ करोड १३ लाख विनियोजना गरिएको छ । त्यसमध्ये सशर्त अनुदान ४५ करोड ७३ लाख रहेको छ । 

यस्तै, स्वास्थ्यतर्फ ४ करोड ९ लाख, सामाजिक विकासतर्फ २ करोड ८६ लाख, आर्थिक विकासतर्फ कुल ३ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ भने वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड २५ लाख बजेट रहेको छ । पर्यटनतर्फ मात्र १० लाख विनियोजन गरिएको बजेटमा सुचना तथा सञ्चारतर्फ २५ लाख ५० हजार, साहित्य कला र सँस्कृतितर्फ ५ लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापन कार्यको लागि आन्तरिक स्रोतबाट २३ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरि, नगरक्षेत्रभित्रका सार्वजनिक जग्गा र जालधार संरक्षण र उपयोगको लागि ४५ लाख रहेको छ ।  यस्तै, आकस्मिक कोषमा ५ लाख, विपद व्यवस्थापन कोषमा २० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक लगायत अन्य खर्चमा ४१ करोड ८४ लाख ५० हजारसमेत विनियोजन गरिएको छ ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदानबाट ४ करोड १ लाख ९२ हजार, संघीय राजश्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

भिडियो: