धरान: गत जेठ २३ गते धरान वडा नं १७ फोकल्याण्डमा डेंगुले एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । 

वडाका जनप्रतिनिधिले डेंगुको कारणले महिलाको मृत्यु भएको जानकारी दिएपनि पुष्टि हुन सकेको थिएन । बुधबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली मृतक महिलाको घरमा पुगेको थियो । उक्त टोलीले मृतकको डेथ सर्टिफिकेट अध्ययन गर्दा डेंगुकै कारण मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने, ‘डेंगुले मृत्यु भएको भन्ने अपुष्ट खबर थियो । वीपी हस्पिटलले दिएको डेथ सर्टिफिकेट हेर्यौ । जेठ २३ गते डेंगुकै कारण मृत्यु भएको रहेछ । तर डेंगु सिरियस अवस्थाको रहेछ । डेंगु सक सिन्ड्रोम रहेछ, त्यो भनेको अचेत अवस्थामा विरामी पुगिसकेको हुन्छ ।

लामखुट्टेको लार्भा नष्ट गर्न शुरु भएन अभियान

धरानमा डेंगु देखिन थालेको २ महिना बितिसकेको छ । तर, अझै पनि उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि ठोस कार्ययोजना बनाएको छैन । डेंगुले नगरबासीको ज्यान गुमिसक्दा पनि मेयर हर्क साम्पाङले त्यता ध्यान नदिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । मेयर साम्पाङले डेंगु नियन्त्रण गर्न के गर्ने भनेर अहिलेसम्म तयारी छलफल गर्न तथा योजना बनाउन चासो दिएका छैनन् । उनी विरुवा रोप्न मात्र केन्द्रीत देखिएपछि आलोचना भइरहेको छ । 

स्वास्थ्य महाशाखा प्रमुख मेहताले चाडै डेंगु नियन्त्रणको लागि अभियान शुरु गर्न पहल भइरहेको बताए । वडा कार्यालयहरुलाई सर्च एण्ड डिस्ट्रोय अभियान गर्न पत्राचार गरेको उनले बताए । तर, वडा कार्यालयहरुले फगिङ मात्र गरिरहेको छ । स्वास्थ्य मापदण्डका अनुसार डेंगु नियन्त्रणको लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने, धेरै दिनसम्म पानी जम्न नदिने सर्च एण्ड डिस्ट्रोय अभियान मात्र प्रभावकारी हुन्छ । धरानमा भने यो अभियान थाल्न ढिलाई भइरहेको छ । 

dengue dharan

धरानमा सबैभन्दा बढी वडा नं १७ मा डेंगुका विरामी देखिएका छन् । यस्तै, वडा ११ र १६ मा पनि डेंगुको प्रकोप देखिएको छ भने अन्य वडामा पनि फैलिदै गएको छ । वडा नं १७ का सदस्य मनिष बिष्टका अनुसार वडाका विभिन्न टोलहरुमा पुग्दा हरेक जसो नै घरमा नै विरामी देखिएका छन् । एकै घरका सबै सदस्यमा पनि डेंगु भएको उनले जानकारी दिए । वडाबासीहरुबाट धेरै माग भएकोले फगिङ कार्य भइरहेको पनि उनले बताए । वडा १७ सँगै अहिले धरानको विभिन्न वडामा फगिङ भइरहेको छ । तर, धुँवाले बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यमा असर पुग्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । 

वडा १७ का अधिकांश विरामीहरु नजिकै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न नजाने गरेको पाइएको छ । डेंगुका विरामीहरु निजी क्लिनिकमा उपचार गर्ने गरेको भेटिएका छन् । रेल्वे चोकस्थित एक क्लिनिक सञ्चालक बमबहादुर भण्डारीका अनुसार दैनिक ५ देखि १० जना डेंगुका नयाँ विरामी आइरहेका छन् । उनीहरुको ल्याब परिक्षणबाट डेंगु पुष्टि भएको र उपचार गर्ने गरेको उनले बताए । सिकिस्त अवस्था देखिएमा आफुले वीपी हस्पिटल रिफर गर्ने गरेपनि विरामी नजाने गरेको उनले बताए ।

भिडियो: