धरान: धरान र इटहरी उपमहानगरपालिकाको सिमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । 

जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिकरुपमा गृहकार्य भइरहेको र समाधान गर्न समिति गठन गर्ने जानकारी दिएका हुन् । उनका अनुसार साविक हाँसपोशा गाविस हुदादेखिकै सिमा क्षेत्र अध्ययन भइरहेको, हाँसपोशा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्ने अध्ययन भइरहेको बताए । नापी र मालपोत कार्यालयसँग पनि यो बिषयमा आवश्यक समन्वय हुने उनले बताए ।

सभापति मेहताले समितिको बैठक बसेर जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एक समिति गठन गर्ने बताए । यसको लागि धरान र इटहरीका मेयरसँग पनि कुराकानी भएको उनले जानकारी दिए । धरानबाट सिमा विवाद मिलाउन पहिल्यै पत्राचार भएको जानकारी दिदै अध्ययन भइरहदा पुनः नयाँ विवाद सृर्जना भएको उनले बताए । ‘हाम्रो समन्वयकारी भुमिका छ । लागिपरेकै छौं, चाडै समाधान गछौं,’मेहताले भने,‘वास्तविकता के हो, त्यसमा जानुपर्छ । राज्यले कस्को सिमा कहाँ निर्धारण गरेको छ, त्यो लुकेर लुक्दैन ।’

धरान उपमहानगरपालिकाले हिजो (सोमबार) इटहरीसँगको सीमा क्षेत्र पानीपियामा सीमा प्रारम्भ बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोलीले उक्त बोर्ड झिकेर तोडफोडसमेत गरेको थियो । यसअघि पनि गत बैशाखमा धरानले सोही स्थानमा राखेको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलेर लगेको थियो । नापी विभागले जारी गरेको नक्सामा धरान र इटहरीको सीमा क्षेत्र पानीपिया उल्लेख भएको छ । सोही आधारमा धरान र इटहरीलाई अनुदानसमेत आउने गरेपनि इटहरीले हाल उक्त सीमा क्षेत्रलाई स्वीकार गरेको छैन ।