धरान: धरान उपमहानगरपालिकाको १३ औं नगर सभामा शुन्य समयमा बेल्दै सभा सदस्यहरुले विविध बिषयमा प्रश्न उठाए । त्यसैक्रममा वडा नं ४ का सदस्य राजन राईले गम्भीर बिषय उठान गरे ।

उनले नगरका कर्मचारी बषौंसम्म एउटै शाखामा रहदा बेथिती बढेको र जनप्रतिनिधिहरुलाई पनि योजनाको काम सकेपछि भुक्तानी गर्न ढिलासुस्ती गर्दै झुलाउने गरेको बताए । काम सम्पन्न भएपछि भुक्तानी पाउन वडाअध्यक्ष धनबहादुर राईलाई ४ महिना र आफुलाई २ महिनासम्म झुलाएर दुःख दिएको उनले बताए ।

‘म जोडदाररुपमा यो कुरा राख्न चाहन्छुँ,’उनले शुरुमै भने,‘भुक्तानी लिन वडाअध्यक्ष र वडा सदस्यले त यति दुःख पाउछन् भने सर्वसाधारणे कति धाउनु पर्छ होला ?’ उनका अनुसार सुमनटारदेखि सतिघाट जोड्ने बाटोमा नगरको जेसिबि प्रयोग गर्दा वडाअध्यक्षले इन्धनमा खर्च गरेका थिए । करिब एक सातामा सकिएको कामको भुक्तानी ५०/६० हजार लिन भने ४ महिना धाउनुपरेको राईले बताए । 

यस्तै, बसन्तटारको नगर गौरवको आयोजनाबाट प्राप्त बजेटको काम ५ दिनमा सकिएको तर भुक्तानी भने २ महिनापछि मात्र पाएको उनले बताए । यस्तै, निर्माणाधिन रामप्रसाद राई फाउण्डेशनको भवन मेयरले तोक लगाइदिए पनि कागज नपुगेको भन्दै कर्मचारीले थुप्रै कोठा चाहार्न बाध्य परेको उनले गुनासो पोखे । ‘यो कागज पुगेन, त्यो कागज पुगेन भन्नुहुन्छ । सम्झौता गर्न मात्र १५ दिन लाग्यो मलाई, उपभोक्ता समितिलाई पठाएको भए कति लाग्थ्यो होला ?’ उनले भने,‘प्रमुख प्रशासकीय अधिकृत फेरिने तर यहाँका शाखा, महाशाखामा फेरिनु पदैन ? एउटै कार्यालयमा एउटै शाखामा २० औं बर्ष कर्मचारी बसेको कारण यो बेथिती बढेको हो ।’

प्रश्नहरुको जवाफ दिने क्रममा मेयर हर्क साम्पाङले कर्मचारीले ढिलासुस्ती गरेको बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । जनतालाई जति सक्दो चाडो सेवा सुविधा दिने भनेर निवार्चित भएको भन्दै उनले के भएको हो लिखितमा निवेदन दिन अग्राह गर्दे स्पष्टीकरण लिने आश्वासन दिए ।

भिडियो: