धरान: धरान १६ नम्बर वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा जेनिथ अंग्रेजी मावि प्रथम भएको छ । 

वडा नं १६ को सहयोगमा भगवती आधारभूत विद्यालयमा आयोजित प्रतियोगितामा जेनिथका सयानु राई, दृष्टान्त सुवेदी र प्रिन्सा मगरको समूह प्रथम भएको छ । यस्तै, सिद्धार्थ स्कुल र सियोन स्कुल क्रमशः दोस्रो र तेस्रो भएको छ । शारदा बालिका स्कुलले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजेता, उपविजेता तथा सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको जेनिथ स्कुलका प्रिन्सिपल पूजा ताम्राकारले बताइन् ।

   प्रतियोगितामा कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी थिए । वडा १६ का सामुदायिक तथा संस्थागत विद्यालयको समूहगत सहकार्य गराउने साथै बालबालिकामा भएको ज्ञानलाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको भगवती विद्यालयका प्रधानाध्यापक अच्युतप्रसाद पराजुलीले बताए । प्रतियोगितामा सामुदायिक तथा सस्थागत विद्यालय गरी १६ नम्बर वडाका ८ वटा विद्यालयहरु सहभागी भएका थिए । कार्यक्रम भगवती आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल नेपालको अध्यक्षता र वडाध्यक्ष मुरारीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।