धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ । 

धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपमेयर बेघा काठमाण्डौंमा भएकोले दत्त लिम्बुले अनावरणको अवसर पाएका हुन् । काठ चिर्न धरान माथि उभिएको प्रतिमाको मेयर साम्पाङले र तल उभिएको प्रतिमा दत्त लिम्बुले अनावरण गरेका थिए ।

कलाकार रोजन राईले बनाएको आरा धरानको प्रतिमा गत जेठ १६ गते नै धरान २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको थियो । तर, आरा चिर्दै गरेका व्यक्तिको प्रतिमा छोपिएको कारणले प्रतिमाको अनुहार कस्तो होला भन्ने कौतुहलता सबैमा थियो । अन्ततः मंगलबार अनावरण भएसँगै सबैको कौतुहलता पनि मेटिएको छ ।

ara dharan1

कलाकार राईका अनुसार प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख रुपैया उपलब्ध भएको थियो । बाँकी करिब ३ लाख जति लगानी आफ्नोतर्फबाट योगदान गरेको पनि उनले बताए । सुरक्षाको लागि बनाइएको रेलिङमा भएको थप खर्च भने मेयर साम्पाङले उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए । 

मेयर साम्पाङले आरा धरानको सुरक्षा गर्ने जिम्मेवारी सबैको भएको बताए । आरा धरानको आसपासमा फाइबरको फलैचा बनाइने र सुन्दर गार्डेन पनि तयार गरिने बताए । फलैचाको लागि दाताहरुबाट सहयोग आउने पनि मेयर साम्पाङले बताए । धरान सहरको नाम धरान कसरी रहन गयो भनेर बुझाउने उद्देश्यले श्रम सँस्कृति पार्क क्षेत्रमा आरा धरानको प्रतिमा राखिएको मेयर साम्पाङको भनाई छ ।

ara dharan2

काठ चिर्नको लागि आरावालाहरुले तयार गर्ने धरान (धराप)बाट पुर्वको आधुनिक सहर धरान नामकरण भएको मानिन्छ । घना जंगलकोरुपमा रहेको स्थानमा फडानी गर्ने क्रममा काठ चिर्ने आरावालाहरुले धरान (धराप) तयार गर्थे । धरानको शिर रहेको विजयपुरमा मात्र मानव बसोबास थियो । उनीहरु काठ चिर्न आउने ठाउँ धरान (धराप) भएकोले फडानी भएको ठाउँको नाम धरान रहन गएको र अहिलेको आधुनिक धरान भएको हो ।

भिडियो: