धरान: धरान वडा नं १४ विजयपुरमा गोपाल मन्दिरको सामुन्ने चर्च बनेपछि विवाद सृर्जना हुँदा धर्म संवेदनशिल बिषय भएकोले नबोल्ने भनेर मौनता साधेका मेयर हर्क साम्पाङ अन्ततः आफै धार्मिक विवादमा तानिएका छन् ।

सामाजिक सञ्जालमा मेयर साम्पाङ ख्रिष्टियन भएको दाबी गर्दे उनका पुराना भिडियो, तस्बिर र फेसबुक स्टाटसहरु भाइरल बनेपछि उनले आज हिन्दु धर्मबारे अभिव्यक्ति दिएका छन् । निरन्तर आरोपहरु आउन थालेपछि मेयर साम्पाङले आफ्नो फेसबुक पेज हर्क साम्पाङ अ रिभोलुसनमा आफ्नो बचाउ मात्र गरेका छैनन्, आक्रोशसँगै पदीय मर्यादा विपरीत जातिय र धार्मिक बिषयमा टिप्पणी तथा अभिव्यक्ति पनि दिएका छन् । 

तिहारमा लक्ष्मीपुजा गर्नुभन्दा श्रम गर्नुभन्ने आसयमा गरेको फेसबुक पोष्ट र क्रिसमसमा आफ्नै कार्यकक्षमा ख्रिष्टियन समुदायसँग केक काटेको तस्बिरलाई उनका आलोचकहरुले भाइरल बनाउदै मेयर साम्पाङ ख्रिष्टियन भएको र मन्दिर सामु चर्च बनाउन दिएको आरोप लगाउदै आएका छन् । उनले चर्चमा बोलेको भिडियोको क्लिप पनि बाहिरिएको छ । आफ्नो बचाउमा मेयर साम्पाङले चर्चमा १५ मिनेट जति बोलेको तर १ मिनेटको मात्र भिडियो हालेको भन्दै आफुले पिण्डेश्वरमा पानी चढाएको भिडियो, हेभन्ली पाथको गुरुसँग बसेको फोटो पनि पोष्ट गर्नु भनेका छन् । 

फेसबुकमा एकपछि अर्को पोष्ट गरिरहेका उनले यो विवादमा जातियतालाई मिसाउदै लेखेका छन्,‘साह्रै धेरै निहुँ खोजे अर्कै कुरा आउँछ है । आदिमबासी मुलबासीहरुसँग निहुँ नखोजेको राम्रो । यो भन्दा बढी बोलिनँ ।’ फेरि उनले अर्को पोष्ट गर्दै नमस्कार पनि हिन्दुको सम्बोधन भएकोले अबदेखि सेवा भनुँ त ? भन्ने प्रश्न गरेका छन् । 

मेयर साम्पाङ यतिमै रोकिएका छैनन्, उनले पुनः हिन्दु धर्मबारे टिप्पणी गर्दै इसाईहरु बढ्नुको कारण खोज्नु भन्दै जातीय विभेद पालेर बस्ने धर्म र वर्ण व्यवस्था भएको धर्म कुन हो ? भनेर प्रश्न गरेका छन् । साथै, उनले समय सापेक्ष वदलिन नसके सकिने मेलो आउने पनि उल्लेख गरेका छन् ।

मन्दिर सामुन्ने चर्च बनेपछि हिन्दुधर्म र ख्रिष्टियन धर्मका अगुवाहरुले मेयर साम्पाङलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए । अलग अलग ध्यानाकर्षण पत्र आएपछि उनले दुवै पक्षलाई संयुक्त छलफलमा बोलाएका थिए । उक्त छलफलमा दुवै पक्षबीच सहमति भएन । मन्दिर पक्षले भविष्यमा धार्मिक सद्भाव भड्किने गतिविधि हुने भन्दै चर्च हटाउनै पर्ने अडान राखेको थियो भने चर्चका अगुवाहरुले सद्भाव नभड्किने र आफुहरु लिखित प्रतिवद्धता जनाउन पनि तयार भएको बताएका थिए ।

समहति नभएपछि मेयर साम्पाङले धर्मको बिषय संवेदनशिल भएकोले मिल्न आग्रह गर्दै आफुले केही नभन्ने र मिल्न नसके अदालत जाने बाटो खुला रहेको बताएका थिए । अर्को दिन मन्दिर पक्षका मानिसहरुले ल्याएका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले चर्च भत्काउने जस्ता धार्मिक सहिष्णुता खलल पुग्ने अभिव्यक्ति मात्र दिएनन्, मेयर साम्पाङ ख्रिष्टियन भएकोले उनले नै संरक्षण गरेर चर्च बनाउन दिएको जस्ता अभिव्यक्ति दिएपछि विवाद चर्किएको थियो । श्रीनिवासको अभिव्यक्ति पछि पनि मेयर साम्पाङले फेसबुकमार्फत आफु धार्मिक सहिष्णुताकै पक्षमा रहेको र कुनै पनि धर्मको पक्षमा नबोल्ने भन्दै बसेका थिए । हिजो बिहिबारदेखि फेसबुकमा उनका पुराना तस्बिर, पोष्ट र भिडियो भाइरल हुन थालेपछि आज बिहान उनले हिन्दुधर्मबारे टिप्पणी गरेका हुन् ।