धरान: दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्नेबारे सहमति भएपछि घण्टाघरमा लागेको ताला खुलेको छ । 

संयुक्त ट्रेड युनियन संघर्ष समितिले सोमबार दिउँसो घण्टाघरको ताला खोलेको हो । संघर्ष समितिले हिजो (आइतबार) अन्यायपुर्वक निकालिएका दुई मजदुरको पुर्नवहाली नभएको भन्दै घण्टाघरको मुलगेटमा तालाबन्दी गरेको थियो । तालाबन्दी भएपछि मेयर हर्क साम्पाङसँग हिजो पनि वार्ता भएको थियो, तर निष्कर्षविहिन भएको थियो । आज भएको वार्तामा भने सहमति भएपछि भने संघर्ष समितिले ताला खोलेको हो ।

वार्तामा उमेर हकबन्दीले निकालिएका कर्मचारी (माली)हरुलाई थप एक बर्षका लागि कार्यकाल थपिदिने वा चित्त बुझ्दो अनुदान स्वरुप सहयोग गर्ने प्रस्तावलाई कार्यपालिकामा पेश गर्ने सहमति भएको थियो । यो सहमति गराउन वडा नं २ का वडाअध्यक्ष रमेश राईले सहजीकरण गरेका थिए । 

ghantaghar raja mama

घण्टाघरमा विगत १८ बर्षदेखि कार्यरत नरबहादुर लिम्बु (राजा ) र ८ बर्षदेखि कार्यरत प्रकाश राईलाई उमेर हकबन्दीको कारण देखाएर मेयर साम्पाङले हटाएका थिए । विभिन्न ट्रेड युनियनहरुले दैनिक ज्यालादारीमा कार्यरत मजदुरलाई उमेरको हकबन्दी नलाग्ने र आर्थिक अवस्था कमजोर भएका मजदुरलाई उचित राहत समेत नदिई अन्यायपुर्वक निकालेको भन्दै आन्दोलन गरेको थियो ।

संघर्ष समितिका संयोजक शम्सेर वर्देवाले सहमति वमोजिम कार्यपालिका बैठकमा प्रस्ताव पेश भएर निर्णय नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । पुर्नवहाली भएका दुवै मजदुरहरुले आफुहरुले काम गर्न सक्दासम्म गर्न पाउनुपर्ने बताए । मजदुर नरबहादुर लिम्बु विगत १८ बर्षदेखि घण्टाघरमा कार्यरत छन् भने प्रकाश राई विगत ८ बर्षदेखि कार्यरत छन् । 

भिडियो:

भिडियो: