धरान: गोपाल मन्दिर नजिकै चर्च बनेपछि उब्जिएको धार्मिक विवाद समाधान गर्न धरान उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन परेको छ ।

मन्दिरको कार्यसमितिले विवाद समाधान गर्न मेयर हर्क साम्पाङलाई निवेदन दिएको थियो । मेयर साम्पाङले उक्त निवेदन न्यायिक निरुपणको लागि न्यायिक समितिमा पठाइदिएका छन् । यो पेचिलो बिषयलाई अब उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको न्यायिक समितिले समाधान गर्ने जिम्मेवारी पाएको छ । ‘गोपाल मन्दिरकोतर्फबाट मेयरलाई निवेदन बुझाएको थिएँ, मेयरले न्यायिक समितिमा पठाइदिनुभयो,’ गोपाल मन्दिरकी अध्यक्ष पुर्णिमाया राईले भनिन्,‘सबैले आफ्नो धर्मकर्म गर्ने वातावरण तयार गर्नुपर्यो । आगोमा घिउ थप्ने काम मात्र भयो, अब पानी लगाउने मान्छे चाहियो ।’

punamaya rai

चर्चलाई अन्त सारेर वा उचित निकास दिएर विवाद समाधान गर्नुपर्ने अध्यक्ष राईले बताइन् । मन्दिरको आधिकारिक धारणा भने चर्चलाई स्थानान्तरण गरिदिनुपर्ने रहेको पनि उनले सुनाइन् । ‘हाम्रो भनाई त्यहाँबाट चर्च अन्तै सारिदिए हुन्थ्यो भन्ने हो,’उनले भनिन् । 

उपमेयर बेघाले मन्दिर र चर्चको विवादको निवेदन औपचारिकरुपमा न्यायिक समितिमा आएको बताए । यो विवाद न्यायिक र राजनीतिक जस्तो पनि देखिएकोले दुवै कोणबाट समाधान निकाल्न लाग्ने उनले बताए । ‘धार्मिक संघसंस्थाका प्रतिनिधिहरु, प्रशासनका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, लब्ध प्रतिष्ठित व्यक्तिहरु सबैलाई राखेर छलफल गछौं,’उपमेयर बेघाले भने,‘चर्च र मन्दिरको सम्बन्ध कस्तो हुनुपर्छ । झगडा गर्ने कि मिल्ने कुरा आउछ, सुनौ न । त्यसपछि धरानको जनताको निष्कर्ष बनाउला, नगरको निष्कर्ष बनाउला ।’

deputy mayor

उपमेयर बेघाले धरान हिजो पनि मिलेर हासेको, आज पनि मिलेरै हासिरहेको र भोली पनि मिलेर हाँस्ने समाज बनाउनुपर्ने बताए । ‘बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक सहर हो धरान । नेपालको सबै जातिहरुको उपस्थिति रहेको, मिश्रण रहेको सहर हो,’उनले थपे,‘यहाँ एकले अर्काको सँस्कृतिलाई सम्मान गरेर बसेको छ । इदमा गएर शुभकामना साटेका छौं, क्रिसमसमा नाचिरहेका छौं । उधौली उभौलीमा नाचिरहेका छौं । दशैं तिहार मनाएका छौं, नेवारहरुको गाईजात्रा, यःमरीमा खुशी मनाइरहेका छौं । यसरी मिलेको सहरमा वादविवाद र छलफल त हुन्छ तर बाहिरबाट उकास्ने काम भयो कि भन्ने चित्त दुखाई, पिर लागेको मात्र हो ।’

धरानमा करिब २ महिनादेखि मन्दिर र चर्चको विवाद देखा परेपनि सम्बन्धित पक्षबाट न्यायिक समितिमा निवेदन पुगेको यो पहिलो पटक हो । यसअघि गत असार २२ गते विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले पनि मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएको थियो । उक्त समितिले ज्ञापन पत्र मात्र बुझाएको थियो भने समिति मन्दिरसँग सम्बन्धित पनि थिएन । चर्च पक्षले पनि ज्ञापन पत्र बुझाएपछि मेयर साम्पाङले दुवै पक्षलाई छलफलमा बोलाए पनि ठोस निर्णय वा निष्कर्ष निस्किएको थिएन । विवाद चर्किएपछि ३ दिनअघि मात्र मेयरले पुनः गोपाल मन्दिर र चर्च पक्षलाई मात्र छलफलमा बोलाएका थिए । 

भिडियो: