धरान: दुई लाख राशीको कवि विमल गुरुङ कृति पुरस्कार २०७९ दुई जना कविको कृतिलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । 

कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फुलपातीको दिन गोरखाका कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ र भारतको मिरिक दार्जिलिङ निवासी विजय वान्तावा कैलाशीको  ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कार छनौट समितिका सदस्य एवं कवि राज माङ्लाकले यसपटक दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिने जानकारी दिएका थिए।

‘चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मूल्यको खोजी गरिएका कविताहरूको संग्रह हो । ध्यानस्त मुद्राका कविताहरूको आश्वादन यो कविता कृतिको अब्बल पक्ष हो । गहन संवेदना र काव्यिक अभिव्यक्ति कविताका शक्ति हुन्,’ पुस्तकालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ । कवि चन्द्र गुरुङको कविता कृति नेृपाली, अंग्रेजी र हिन्दीमा प्रकाशित भइसकेको छ ।

thumb

यस्तै, मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्साबारे विज्ञप्तीमा भनिएको छ, दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरूले भोग्दै आएको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति हो । अनुभूतिजन्य भाषामा यसले दार्जिलिङ क्षेत्रको विद्रोह बुझ्न र बुझाउन प्रयत्न गरेको छ ।’

पुरस्कारका लागि गरिए अनुसार स्वदेश तथा विदेशबाट नेपाली भाषी लेखक(साहित्यकारहरूबाट १०१ कृति प्राप्त भएको पुस्तकालयले जनाएको छ । ती मध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनोट गरिएको र त्यसमध्येबाट पनि दुई कृति पुरस्कारका निम्ति चयन गरिएको पुस्तकालयका सचिव गणेश तिम्सिनाले बताए । पुस्तकालयका अध्यक्ष एवं स्वर्गीय कवि विमल गुरुङका पिता पुर्णबहादुर गुरुङले पुरस्कार कार्तिक १९ गते ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवको दिन वितरण गरिने जानकारी दिए ।

उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औँ जयन्तीको अवसरमा नगद राशी दुई लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने अध्यक्ष गुरुङले बताए । गुरुङले पुस्तकालयकै नाममा एक करोड रुपैयाँको अक्षय कोष राखेर गत वर्षदेखि नगद २ लाखको रुपैयाँको विमल कृति पुरस्कार प्रदान गर्दै आएका छन् ।

भिडियो: