धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शिक्षक चिकित्सकहरुको आन्दोलनलाई मत्थर पार्न एक सुचना जारी गर्दै मंसिर १ गतेदेखि करार सेवा अन्तर्गतको पदहरुको अन्तर्वार्ता सुचारु गर्ने जनाएको छ । 

प्रतिष्ठानका रजिष्ट्रार एवं छनौट समितिका सदस्य सचिव प्रा.डा.सुर्यप्रसाद संग्रौलाले आइतबार जारी गरेको सुचनामा हाल करार सेवा अन्र्तगतका पदहरुको अन्तर्वार्ता सुचारु गर्ने उल्लेख छ । यो सुचनाले आन्दोलनलाई मत्थर पार्नुको साटो आन्दोलनकर्मी शिक्षक चिकित्सकहरुलाई थप आक्रोशित तुल्याएको छ । शिक्षक कल्याण समाजले आज (सोमबार) विज्ञप्ती जारी गर्दै उक्त सुचना विभेदकारी भएकोले फिर्ता लिन आग्रह गरेको छ । 

समाजका महासचिव डा.संयोग उप्रेती र कोषाध्यक्ष डा.रामायणप्रसाद कुसवाहले जारी गरेको विज्ञप्तीमा सुचना फिर्ता लिएर करार र स्थायी शिक्षकहरुको अन्तर्वार्ता सँगसँगै सुचारु गर्ने सुचना नआएसम्म यसबाट हुनसक्ने अप्रिय घटनाहरुको जिम्मेवारी स्वयम पदाधिकारीहरु हुने पनि उल्लेख गरिएको छ । समाजले विभेदकारी एकपक्षीय निर्णयविरुद्ध सोमबारदेखि नै इर्मजेन्सी, आइसियुबाहेकका सम्पुर्ण कार्यहरु बहिष्कार गरि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपकुलपति कार्यालयअघि धर्नामा आउन पनि आह्वान गरेको छ । 

मेयर साम्पाङले गरे शिक्षक चिकित्सकहरुसँग छलफल

bp doc mayor1

प्रतिष्ठानका पदेन सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङले आन्दोलनरत शिक्षक चिकित्सकहरुको माग र आन्दोलनबारे छलफल गरेका छन् । मेयर साम्पाङले सोमबार बोलाएपछि कार्यकक्षमा पुगेका आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरेका थिए । उनले चिकित्सकहरुको मागबारे जिज्ञासा राख्दै स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँगको भेटबारे पनि चासो राखेका थिए । 

आन्दोलनरत चिकित्सकहरुले आफुहरुको माग अवरुद्ध भएको बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने मात्र रहेको र यसमा पदाधिकारीहरु नै बाधक बनेको प्रतिक्रिया दिएका थिए । आन्दोलनरत डाक्टर मधुर बस्नेतले पदाधिकारीहरुको निकम्मापनले प्रतिष्ठानको वर्तमान अवस्था सृर्जना भएको बताए । कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले लोकसेवा आयोगलाई पत्राचार गरेपछि बढुवा प्रक्रिया रोकिएको भन्दै सुचारु गर्न पनि कुनै समस्या नभएको तर शुरु नगर्दा चिकित्सकहरु मर्कामा परेको डा.बस्नेतले बताए । उनले आफुहरु सामुहिक राजिनामा दिएकोले पठनपाठन र उपचार सेवामा संलग्न हुन नसक्ने तर अरुबाट हुने सेवालाई अवरोध नगरेको पनि बताए ।

bp press 

अर्का आन्दोलनरत डाक्टर रोबिन मास्केले पदाधिकारीहरुले आआफ्नो स्वार्थपूर्तिको लागि आफुहरुको आन्दोलनलाई उपयोग गर्न खोजिरहेको भन्दै असन्तुष्टी जनाए । पदाधिकारीहरुको वदनियतले नै समस्या जेलिदै गएको भन्दै उनले बढुवा प्रक्रिया सुचारु गर्न कुनै समस्या नभएको तर पदाधिकारीहरुबीच एकता हुन नसकेको बताए । 

मेयर साम्पाङले प्रतिष्ठानको अवस्था, उपचार सेवा र पठनपाठन प्रभावित भएकोमा चिन्ता प्रकट गर्दे समस्या समाधानको लागि पहल गर्ने बताएका थिए । उनले आफुले नियमितरुपमा पदाधिकारीहरुसँग सम्पर्क गरिरहेको भन्दै आवश्यक परेमा लोकसेवा आयोगका पदाधिकारीसहित छलफलको लागि पनि पहल गर्ने बताए ।

भिडियो: