धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुको आन्दोलनले प्रभावित ओपिडी सेवा आज पनि सञ्चालनमा आउने भएको छ । 

हिजो साँझ प्रतिष्ठानको अस्पताल प्रशासन र विभागीय प्रमुखहरुबीच भएको छलफलमा आज (बिहिबार) ओपिडी सेवा सुचारु गर्ने सहमति भएको हो । समस्याको निकास निकाल्न भन्दै काठमाण्डौं गएका उपकुलपति, रेक्टर र रजिष्ट्रार आज प्रतिष्ठान आउने सम्भावना रहेको र पदाधिकारीहरु आएपछि थप छलफल गरेर निकास निकाल्ने समझदारी भएको डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले जानकारी दिए । उनले भने,‘विभागीय प्रमुखहरुसँग छलफल गरेर आजलाई पनि ओपिडी सेवा सुचारु गर्ने समझदारी भएको छ । पदाधिकारीहरु काठमाण्डौंबाट आएपछि आजै बसेर सम्बोधन गर्ने भन्ने पनि छ ।’

शिक्षक कल्याण समाजले सोमबार विज्ञप्ती जारी गर्दै इर्मजेन्सी, आइसियुबाहेकका सम्पुर्ण कार्य बहिष्कार गर्न सबै चिकित्सकहरुलाई आह्वान गरेपछि ओपिडी सेवा पनि ठप्प हुने अवस्था भएको थियो । यो सहमति पछि भने राजिनामा दिएका शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर, एसआर र जेआरहरुले ओपिडी सेवा सुचारु गराउने वातावरण बनेको हो ।

शिक्षक चिकित्सकहरुको आन्दोलनको कारण ओपिडी सेवा ठप्प हुने अवस्था भएपछि हिजो हिजो बिहान विरामीहरुले नै आन्दोलन गरेका थिए । विल काउन्टर नखुलेपछि घण्टौं लाइनमा उभिएका विरामी र आफन्तजनहरु अस्पताल प्रशासनमा पुगेर दबाब दिएका थिए । त्यसपछि विभागीय प्रमुख, आन्दोलनरत चिकित्सकहरुसँगको छलफलबाट हिजो पनि ओपिडी काउन्टर खुलेको थियो । पुनः साँझ अस्पताल निर्देशक डा.जगत नारायण प्रसादसहितको छलफलले आज (बिहिबार) पनि ओपिडी सेवा सुचारु गर्ने सहमति भएको थियो ।

प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले असोज २६ गतेदेखि लागु हुने गरि सामुहिक राजिनामा दिएका छन् । प्रतिष्ठानका १७७ जना शिक्षक, चिकित्सकहरुले सामुहिक राजिनामा दिएर काममा नआएपछि उपचार सेवा प्रभावित छ । प्रतिष्ठानले आइतबार सुचना निकाल्दै करार सेवाका पदमा मात्र अन्तर्वार्ता सुचारु गर्ने जनाएपछि आक्रोशित शिक्षक कल्याण समाजले सोमबार विज्ञप्ती जारी गर्दै करार र स्थायी सेवाका पदहरुलाई सँगै अन्तर्वार्ता लिने सुचना नआएसम्म इर्मजेन्सी र आइसियुबाहेकका सम्पुर्ण कार्य बहिष्कार गर्न आह्वान गरेको थियो । यो आह्वानले मंगलबारदेखि ओपिडी सेवा प्रभावित हुन पुगेको थियो ।