धरान : बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरुबीच वार्ता भइरहेको छ ।

बीपी प्रतिष्ठानको गेष्ट हाउसमा सिनेट सदस्यसमेत रहेका धरानका मेयर हर्क साम्पाङको उपस्थितिमा वार्ता भैरहेको छ । आज आइतबार बेलुकी साढे ६ बजेदेखि वार्ता सुरु भएको हो, तर यो समाचार पार्दा (राती साढे ९) सम्म पनि सहमति जुट्न सकेको छैन । 

भित्र वार्ता भैरहदा गेष्टहाउस बाहिर विधार्थीहरुले धर्ना दिइरहेका छन् । विधार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजाकले एक महिनादेखी पठनपाठन र परिक्षा रोकिदा भविष्य अन्योल भएकोले आज जसरी पनि वार्ता सफल हुनै पर्ने बताए । वार्ता नमिले आफुहरु ताला लगाउने र धर्नालाई निरन्तरता दिने उनले बताए ।

शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका शिक्षकहरु लामो समयदेखी आन्दोलनमा छन् । अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षकहरुले पठनपाठन र उपचार सेवा बहिष्कार गरेका छन् भने १७७ जनाले सामुहिक राजीनामा समेत बुझाएका छन् ।