धरान: कोशी प्रदेश सरकारले काकाकुल धरानलाई तमोर नदीको पानी ल्याएर समस्या समाधान गर्ने योजना अघि सारेको छ । 

मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको प्रतिस्थापन विधेयकमा धरानको खानेपानी समस्या समाधान गर्ने गरि तमोरको पानी ल्याउने योजना समेटेका हुन् । निजी क्षेत्रसँगको साझेदारीमा यसै बर्ष उक्त कार्य प्रारम्भ गरिने पनि प्रतिस्थापन विधेयकमा उल्लेख छ । 

उक्त विधेयकमा भनिएको छ,‘पिउनको लागि स्वच्छ खानेपानी भन्ने नारालाई सफल बनाउन पिउने पानीको अभावले काकाकुल भएको धरानलाई सम्बोधन गर्न तमोर नदीको पानी धरान पुर्याउनका लागि निजी क्षेत्रसँगको साझेदारीमा यसै बर्ष कार्य प्रारम्भ गरिनेछ ।’

budget


यसअघि बधाई दिन विराटनगरस्थित मुखयमन्त्री कार्यालय पुगेका मेयर हर्क साम्पाङसँग मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय सरकारको साझेदारीमा खानेपानी समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए । मुख्यमन्त्री कार्कीले यसअघि एमाले नेता हिक्मत कार्की नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक ल्याएका हुन् । उनले चालु आर्थिक बर्षको लागि ५० करोड बजेट थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पशे गरेका छन् । 

यसअघिको प्रदेश  सरकारले पनि सुरुङ मार्ग बनाएर तमोर नदीको पानी पनि धरान ल्याउने योजना बनाएको थियो । निती तथा कार्यक्रममा समावेश भएको र डिपिआरसमेत भएको उक्त योजना कार्यान्वयनमा भने आउन सकेको छैन । धरानको खानेपानीको स्रोत सर्दु जलधार मासिन सक्ने भन्दै सुरुङ मार्गप्रति वर्तमान मेयर हर्क साम्पाङ सकरात्मक नभएपछि उक्त योजनाबारे थप छलफल भएको छैन । अहिलेको प्रतिस्थापन विधेयकमा तमोरको पानी धरान ल्याउने उल्लेख भएपनि सुरुङ मार्गको बिषयमा उल्लेख गरिएको छैन ।