धरान: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज शेरधन राईले देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहदा पनि गठबन्धन सरकार मौन बसेको आरोप लगाएका छन् । 

जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई विभिन्न बहानामा ध्वस्त पार्न धावा बोलिरहेको अवस्थामा पनि वर्तमान सरकार कानमा तेल हालेर बसेकै कारण एमालेले संकल्प यात्रा शुरु गर्नुपरेको नेता राईले दाबी गरे। मंगलबार एमाले धरान उपमहानगर कमिटीद्वारा आयोजित भुकम्प पीडितलाई राहत रकम हस्तान्तरण तथा संकल्प अभियानबारे पत्रकार भेटघाट कार्यक्रममा नेता राईले यस्तो बताएका हुन् ।

प्रदेश १ का संस्थापक मुख्यमन्त्री समेत रहेका राईले लोकतन्त्रलाई अप्ठ्यारोमा धकेल्ने काम भइरहेको दाबी गर्दै भने, 'अस्थिरता पैदा गर्ने, द्वन्द भड्काउने मनसायका साथ शक्तिहरु लागेका छन्, गठबन्धन सरकार मौन छ, स्वभिमान र स्वधिनताको पक्षमा लडेको राष्ट्रवादी पार्टी एमाले बलियो भएर खडा भएको छ, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि एमाले लागेको छ ।’

जनविरोधी शक्तिहरु एमालेलाई घेराबन्दी गर्ने, सबै खाले स्वार्थलाई छिराउने दाउपेच भइरहेको उनको भनाई छ। देशमा भइरहेको अराजक अवस्थालाई बुझ्दै यात्राको माध्यमबाट देशको बिग्रदो अवस्थालाई बुझेर सुधार गर्ने तर्फ दृष्टिकोण बनाउने तयारीका साथ एमाले अघि बढेको उनले बताए । नेता राईले भने, ‘बसाई सराईले पहाडी क्षेत्र रुखो बन्दै गएको छ । युवाहरु पलायन भइरहेका छन् । कृषि, पर्यटन लगायत रोजगारीको शिर्जन हुन सकेको छैन्, यो अवस्थालाई जनतामा अन्तरक्रिया, छलफल गरेर दृष्टिकोण बनाउनेछ ।’ 

मुलुकको बिग्रदो अवश्थालाई सुधारेर एमालेलाई मिसन ८४ पुरा गर्ने तरिकाले अघि बढ्ने पनि उनले बताए । पहाडी जिल्लामा भइरहेको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन समग्र पक्षको अध्ययन गर्ने अन्तरक्रिया गर्ने र आगामी दिनमा त्यस क्षेत्रको विकासलाई अघि बढाउन ठोस आधार तयार गर्न अभियान अघि बढेको उनले बताए । उनका अनुसार आउँदो २८ गते तेह्रथुमको बसन्तपुरमा बृहतसभा हुँदैछ भने पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा संकल्प अभियानको समापन हुने छ।

भिडियो: