धरान: मोरङको केराबारी गाउँपालिकाले खदम खोलाको पानी धरान ल्याउन स्थानीय राजनीतिक दलहरुको सहमति आवश्यक पर्ने भएको छ । 

धरानका मेयर हर्क साम्पाङले खदम खोलाको पानी धरान ल्याउन अनुमतिको लागी आफै पुगेर अनुरोध पत्र दिएका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिङिचिङले कार्यपालिका बैठकमा एजेण्डा लैजाने आश्वासन दिएका थिए । तर, लामो समय बित्दा पनि गाउँपालिकाले निर्णय गर्न नसक्नुमा राजनीतिक सहमति जुटाउन समय लागेको खुलेको छ । 

मेयर साम्पाङले केराबारीको कार्यपालिका सकरात्मक भएपनि राजनीतिक सहमति आवश्यक भएको जानकारी गाउँपालिका अध्यक्षबाट पाएको मिडियालाई बताएका छन् । बुधबार एयरपोर्ट सर्वेको क्रममा मिडियाकर्मीसँग कुरा गर्दै साम्पाङले केराबारीको राजनीतिक दलहरुलाई खानेपानीमा सहयोग गर्न आग्रह पनि गरे । 

मेयर साम्पाङले राजनीतिक दलहरुले साथ दिने आफुलाई विश्वास भएको पनि बताए । सहमति हुना साथ पाइप बोकेर श्रमदानमा जाने पनि उनले बताए । मेयर साम्पाङले भने, 'मलाई विश्वास छ, त्यहाँका राजनीतिक दलहरुले पनि साथ दिनुहुनेछ । धरानबाउसीको प्यास मेटाउन सहमति गर्नु नै हुनेछ । सहमति भयो हैं भन्नुबित्तिकै पाइप बोकेर कुदिहाल्ने हो । पाइप रेडी छ ।'

आफु धराने जनताकको लागि मगन्त बन्न पनि तयार भएको उनले बताए । केराबारी गाउँपालिकामा आफु मगन्ते बनेर नै पानी माग गर्न गएको पनि उनको भनाई थियो । खदम खोलाको बगेर गइरहेको पानीलाई आफुले ल्याउन चाहेको भन्दै उनले भने, 'केराबारीमा साह्रै अभाव भयो भने हामी त्यसबेला पाइप टुटाउन सक्छौं, तर त्यहाँ पर्याप्त पानी छ । बगेर पनि खेर गइरहेको पानी ल्याउने हो ।' 

भिडियो:

भिडियो: