धरान: धरानमा एयरपोर्ट बन्छ कि बन्दैन भन्ने बहस जति पेचिलो छ, त्यतिनै धरान १७ डाँडाघोपाबासीलाई अब आफ्नो घरजग्गा के हुने हो भन्ने चिन्ता छ । 

एयरपोर्ट सर्वेको लागि नागरिक उड्यान प्राधिकरणबाट आएको टोलीसँगै मंसिर २२ गते डाँडाघोपा पुगेका मेयर हर्क साम्पाङले ‘म कसैलाई रुवाएर विकास गर्दिन’ भनेर आश्वासन दिएका थिए । तर, त्यसपछि पनि स्थानीयबासीहरुले एयरपोर्टबारे पक्ष र विपक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिइरहेका छन् । प्रस्तावित एयरपोर्ट क्षेत्र डाडाँघोपामा नम्बरी जग्गामा घर भएकाहरुमा सरकारले जर्बजस्ती अधिग्रहण पो गर्ने हो कि ? भन्ने चिन्ता छ भने एलनीमा घर भएकाहरु आफ्नो उठिबास नै हुने हो कि भनेर चिन्तित देखिन्छन् । 

स्थानीयबासीको असन्तुष्टी प्रकट भइरहे पछि आज (बिहिबार) मेयर हर्क साम्पाङआफै डाँडाघोपा पुगेर स्थानीयबासीको गुनासो सुनेका छन् । मेयर साम्पाङले पुनः एक पटक स्थानीयबासीलाई आश्वास्त पार्दै भने, ‘हल्लाको पछि नलाग्नुस्, तपाईहरुलाई विस्थापित गर्छ भन्ने भ्रम मात्र हो । मैले भनेको मात्र आधिकारिक हो । अहिलेसम्मको आधिकारिक सुचना भनेको छलफलकै क्रममा छौं ।’

मेयर साम्पाङले स्थानीयबासीको सल्लाह र चाहनाविना आफु एक इञ्च पनि अघि नबढ्ने उल्लेख गर्दै २० बर्षदेखिको घाउ निको पार्न कि विकास हुनुपर्यो कि यो समस्याबाट निकास भइहाल्नुपर्यो भनेर लागिपरेको बताए । उनले भने,‘एयरपोर्ट मेरो चुनावी एजेण्डा पनि होइन, तर २० बर्षदेखिको घाउकोरुपमा रहदै आएकोले गर्दा कि विकास हुनुपर्यो कि त यो समस्याबाट निकास भइहाल्नुपर्यो भनेर सम्बन्धित निकायमा कुरा पुर्याएको छुँ ।’

dada ghopa locals

मेयर साम्पाङले विकास जनताको लागि गर्ने भएकोले डाँडा घोपाबासीको चाहना, भावना छैन भने र आवश्यकता होइन भने सरकारले जर्बजस्ती गरेर अघि नबढ्ने पनि स्पष्ट पारे । अहिलेसम्म वान वे टेकअप, ल्याण्डिङ हुनसक्ने अध्ययन मात्र भएको भन्दै उनले एयरपोर्ट बन्न फिजिवल छ छैन भन्ने प्रष्ट भइनसकेको पनि बताए ।

‘मेरो चुनावी एजेण्डा यो थिएन । तर सरकारको काम भनेको विगतमा गरेको मेयरको कामलाई गलत थियो भने सच्याउनुपर्छ, सही थियो भने थप्दै अघि बढाउनुपर्छ । त्यो दायित्वलाई पुरा गर्दै म अघि बढ्न चाहेको हो,’उनले भने, ‘सल्लाह गर्राैं, निचोड के आउछ, जर्बजस्ती त हुदैन । कसैको मन दुःखाएर हिड्दिन । मुआब्जा दिने, कति दिने, सरकारले दिएकोमा चित्त बुझाउने कि नबुझाउने भन्ने कुरा तपाईहरुसँग सल्लाह नगरि एक इञ्च पनि अघि बढ्दिन ।’

मेयर साम्पाङले अध्ययन टोलीको निष्कर्षको प्रतिवेदन आफ्नो हातमा आएपछि मात्र थप बोल्ने बताए । प्रतिवेदनले एयरपोर्ट बन्दैन भन्यो भने आफु बनाउनुपर्छ भनेर नलाग्ने पनि उनले प्रष्ट पारे । ‘प्रतिवेदनमा बन्दैन भन्ने आयो भने मैले कसरी बनाउनु ? ढुंगा बोकेर र श्रमदान गरेर मात्र त बन्दैन,’उनले भने,‘अब कि त विकास हुन्छ, कि त निकास हुन्छ । एयरपोर्ट अब अल्झेर २० बर्ष बस्दैन, रिपोर्ट आए ३ महिना पनि बस्दैनौ ।’

भिडियो: