धरान: मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको बिषयले शुक्रबार धरानको कार्यपालिका बैठक पनि प्रभावित भएको छ ।

कार्यपालिका बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले व्यक्ति मन नपरेपनि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखकोरुपमा सम्मान गर्नुपर्ने धारणा राख्दै हटाएको तस्बिर सोही स्थानमा राख्न मेयर साम्पाङलाई आग्रह गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर पुनः नराखेसम्म बैठक एजेण्डामा प्रवेश नगर्ने अडान राखेका थिए ।

उनीहरुले आमाबुबाले आफुले भनेको नमान्दा घरबाट निकालेको जस्तै मेयर साम्पाङको कार्य भएको भन्दै विरोध पनि जनाए । उनीहरुले मेयर साम्पाङ वडाका कार्यक्रम, संघसंस्थाको कार्यक्रममा जान नभ्याए जस्तै प्रधानमन्त्रीको पनि समय नमिलेको हुनसक्ने भएकोले तस्बिरै हटाउनु गलत भएको पनि बताए ।  

meeting

बैठकमा मेयर साम्पाङले केन्द्र सरकारले धरानलाई विभेद गरेको कारण आन्दोलनकोरुपमा तस्बिर हटाएको बताएका थिए । उनले पुष २० गते धरान उत्सवको उद्घाटनमा प्रमुख अतिथिकोरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक महिना अघि नै निमन्त्रणा गरेपनि वेवास्ता गरेको पनि बताए । 

विराटनगरमा सामान्य कार्यक्रममा आउने तर धरानको १२३ औं स्थापना दिवस मनाउने कार्यक्रममा निमन्त्रणा गर्दा आउन नमानेर धरानलाई विदेभ गरेकोले त्यसविरुद्ध आफुले आन्दोलन शुरुवात गरेको मेयर साम्पाङको भनाई थियो । उनले धरानलाई विकास, योजना, बजेटमा विभेद गर्ने केन्द्रकोविरुद्ध आफ्नो आन्दोलनमा साथ दिन पनि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आग्रह गरेका थिए । 

karyapalika

मेयर साम्पाङको जवाफमा चित्त नबुझाएपछि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले तस्बिर राखेर मात्र बैठक अघि बढ्ने बताएका थिए । त्यसपछि मेयर साम्पाङले कार्यपालिका बैठकले प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने निर्णय गरेमा मात्र तस्बिर राख्ने सर्त राखेका थिए । तर, उनको उक्त सर्तलाई अस्वीकार गरेपछि मेयर साम्पाङले बैठक स्थगित भएको घोषणा गरेका थिए । 

बैठक स्थगित भएपछि वडाअध्यक्षहरुले प्रतिक्रिया दिदै राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको पदीय गरिमा राख्नको लागि पनि मेयर साम्पाङले तस्बिर राख्नुपर्ने धारणा व्यक्त गरे । उनीहरुले मेयर साम्पाङले चाडै आफ्नो कदमबारे पुर्नविचार गर्ने र कार्यपालिका बैठक सहजरुपमा अघि बढ्ने पनि विश्वास व्यक्त गरे । आजको बैठकमा उपमेयर अइन्द्रबिक्रम बेघा भने अनुपस्थित रहेका थिए । 

भिडियो:

भिडियो: