धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि उनकै कार्यकक्षमा भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

कांग्रेस धरान उपमहानगर कमिटि सभापति श्याम पोख्रेल, प्रतिनिधिसभा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा १ (१) समिति सभापति अनिल श्रेष्ठ र प्रदेशसभा १ (२) सभापति मुरारीप्रसाद भट्टराईले संयुक्त विज्ञप्ती जारी गर्दै घोर निन्दा र भत्र्सना गरेका छन् । डा.कार्कीमाथि कार्यकक्षमा भएको अमर्यादित तथा सांघातिक हमला कदापी क्षमा योग्य हुन नसक्ने पनि विज्ञप्तीमा उल्लेख छ । ‘आपसी सहमति र सद्भावबाट भइरहेको समस्या समाधान उन्मुख कार्यलाई यस्ता खालका उच्छृखंल गतिविधिले झन जटिलतातर्फ ढकेल्नेमा दुई मत हुनसक्दैन,’विज्ञप्तीमा भनिएको छ । 

कांग्रेसले यस्ता किसिमका घटनालाई निरुत्साहित गर्न तथा भविष्यमा समेत घट्न नदिन र संस्थाको गरिमालाई सदैव अक्षुष्ण राख्न घटनामा संलग्न जोकोहीलाई दोषीलाई कानुन वमोजिम कडा कारबाही गर्न पनि माग गरेको छ । नेपाल सरकारबाट निर्देशन भइ प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक हुदै गरेको र माघ २९ गते नै सिनेट बैठक बोलाइएको अवस्थामा यो घटनाले शिक्षक, कर्मचारीहरुको जायज मागलाई पुरा हुन नदिई प्रतिष्ठानलाई थप अराजकता सिर्जना गर्ने र संस्था नै बन्द गराउने कुतत्वहरुको खेल हुनसक्नेतर्फ पनि कांग्रेसले आशंका व्यक्त गरेको छ ।

यस्तै, अदालतबाट स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा कुनै आन्दोलन, बन्द, हडताल,तालाबन्दी, अवरोध नगर्नु नगराउनु भन्ने आदेशविरुद्ध भद्र अवज्ञाको नाममा आन्दोलन हुनुमा यस्तै तत्वद्धारा सञ्चालित भएको त होइन ? भन्ने आशंका पनि कांग्रेसले विज्ञप्तीमा प्रकट गरेको छ । 

congress bp