धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ)को पहलमा व्यवस्थापन र आन्दोलनरत पक्षबीच शनिबार वार्ता भएको छ । 

उपकुलपति कार्यालयमा दिउँसो करिब साढे ४ बजेदेखि शुरु भएको वार्ता राती करिब ९ बजेसम्म भएको थियो । उक्त वार्ताले सहमतिको खाका तयार गरेपनि अन्तिममा आन्दोलनरत पक्षले हस्ताक्षर नगरेपछि निष्कर्षमा पुग्न सकेन । वार्ता निष्कर्षमा पुग्न नसक्दा पठनपाठन सुचारु हुनुपर्ने माग राखेर शुक्रबारदेखि रिले अनसनमा बसेका विद्यार्थीहरु निराश छन् । 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार सहमतिको खाका तयार भएपनि हस्ताक्षर हुन सकेन । शिक्षककोतर्फबाट फरक मत राखेपछि आन्दोलनरत पक्षलाई थप छलफल र गृहकार्यको समय दिइएको प्रजिअ आचार्यले बताए । उनले भने–‘करिब करिब कुरा मिलिसकेको छ । भोली (आइतबार) फेरि बस्ने भनेर छुट्टियौं । पहिला तपाईहरु आन्दोलनरत र व्यवस्थापनले हस्ताक्षर गर्नुस्, अनि हामी फेरि आउछौं भनेका छौं ।’

आन्दोलनरत पक्षले अन्तर्वार्ताको कार्यतालिका निकाल्नुपर्ने मागमा अडान लिएपनि उच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले त्यसबारे तत्काल निर्णय लिन सम्भव नभएको पनि प्रजिअ आचार्यको भनाई थियो । ‘अदालतमा विचाराधिन छ, २४ गते पेशी छ । तत्काल केही निर्णय लिन सक्ने अवस्था भएन,’उनले भने,‘अनसनमा बसेका विद्यार्थीहरुलाई भिसि सरले सम्बोधन गर्नुभयो ।’

कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले पुनः भोली बस्ने गरि वार्ता स्थगित गरिएको बताइन् । तर समय भने नतोकिएको उनको भनाई छ । आन्दोलनरत पक्षलाई छलफलको लागि भनेर बोलाइएपनि पदाधिकारीहरुसँग वार्ता भएको र आफुहरुले म्याण्डेट लिनुपर्ने भएकोले तत्काल हस्ताक्षर नगरिएको उनले बताइन् । ‘हामीले मासमा छलफल गरेर म्याण्डेट लिएर मात्र हस्ताक्षर गर्नुपर्ने हुन्छ । तरपनि हामी पोजेटिभ नै छौं, फाइनल भोली हुन्छ,’उनले भनिन् । 

वार्तामा प्रतिष्ठानका चारै जना पदाधिकारी, आन्दोलनरत शिक्षक र कर्मचारीका प्रतिनिधि साथै अनसनरत विद्यार्थी कल्याण समाजका प्रतिनिधिहरु पनि सहभागी थिए । अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग लिएर गत पुष २९ गतेदेखि शिक्षक, कर्मचारीहरुले पठनपाठन र उपचार सेवा बहिष्कार गर्दै भद्र अवज्ञा आन्दोलनमा छन् । जसले गर्दा विद्यार्थीहरुको पठनपाठन पुर्णरुपमा ठप्प छ भने ओपिडी सेवा पनि प्रभावित छ ।