धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्काल र दीर्घकालिनरुपमा समस्या समाधानको लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पुर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिशेष ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले धरानका नेताहरुले मंगलबार गृहजिल्ला झापामा ओलीलाई भेटेर बिशेष ध्यानाकर्षण पत्र बुझाएको हो । दक्षिण एसियाकै उत्कृष्ट संस्थाको रुपमा स्थापित प्रतिष्ठान अहिले कमजोर बन्दै गइरहेको भन्दै एमाले धरानले संघीय सरकारले बिशेष ध्यान दिनु आवश्यक रहेको पनि औल्याएको छ । ‘हरके पदाधिकारीहरु भ्रष्टचारमा मुछिने, निर्माण तथा खरिद कार्यहरुमा अनियमितता हुने, कर्मचारी नियुक्ती तथा आन्तरिक काम बाँडफाडमा राजनैतिककरण हुने भएको कारण आज प्रतिष्ठान कमजोर अवस्थामा पुगेको छ,’ ओलीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रतिष्ठानमा हाल देखिएको शिक्षक, कर्मचारी तथा विद्यार्थीको आन्दोलनलाई सम्बोधन गर्न र प्रतिष्ठानको अस्पताल सेवा, शैक्षिक कार्यक्रम, अनुसन्धान जस्ता कार्यहरुलाई गुणस्तरीय बनाउन सरकार समक्ष विषेश पहल गरिदिन एमाले धरानले ओलीलाई अनुरोध पनि गरेको छ । यस्तै, प्रतिष्ठानको दीर्घकालिन विकासको लागि स्वायत्त विश्वविद्यालय बनाउन नितिगत निर्णय सहित आवश्यक पहल गरिदिन पनि पार्टी अध्यक्ष ओलीलाई अनुरोध गरिएको एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले जानकारी दिए ।

उनका अनुसार चिकित्सा शिक्षा ऐनबाट विपी प्रतिष्ठानलाई अलग्गै राख्ने ब्यबस्था गरिदिन, एङकोलोजी र कोर्डियो सेन्टर निर्माणको स्वीकृती भई सकेकोले भौतिकर पुर्वाधार एवं संरचना निर्माणको पहल गरिदिन र आवश्यक उपकरण एवं आईसियुहरु थप गर्न पनि पहल गरिदिन बिशेष ध्यानाकर्षण गराइएको हो । 

शिक्षक समाजले पनि गरायो ध्यानाकर्षण

विपी प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज खानको नेतृत्वमा विपी प्रतिष्ठानमा भइरहेको समस्या, चिकित्सकहरुको समस्याबारे लिखित ध्यानाकर्षण गराएका छन् ।

खानसहित पुगेको टोलीले चिकित्सक र कर्मचारी बढुवाका विषयमा भएको सहमति र लामो समयदेखि बढुवा नहुदा प्रतिष्ठानमा देखिएको असरबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । वृत्तिविकास रोकिदा पछिल्लो समय चिकित्सकहरु निराश भएर प्रतिष्ठान छोडेर अन्यत्र जान थालेको, विद्यार्थीहरुको पनि शैक्षिक क्यालेण्डर बिग्रेको लगायत असरहरुबारे पनि जानकारी दिएका थिए । 

1 copy

2 copy