धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्नको लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्दै कोशी प्रदेशका सांसदहरुले मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् ।

सुनसरीका प्रतिनिधित्व गर्ने पाँच जना सांसदहरुले आइतबार मुख्यमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । पाँचै जना सांसदहरु एमालेका हुन् । प्रतिष्ठानका शिक्षक र कर्मचारीहरुको आन्दोलनले स्वास्थ्य उपचार प्रायः ठप्प भएको र विद्यार्थीहरुको पठनपाठन ठप्प भएको भन्दै सांसदहरुले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएका हुन् । 

सांसदहरुले मुख्यमन्त्री कार्की प्रदेशका स्वास्थ्यमन्त्री पनि भएकोले प्रतिष्ठानका पदाधिकारी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न आवश्यक भएको पत्रमा उल्लेख गरेका छन् । ध्यानाकर्षण बुझाउने सांसदहरुमा रमेशकुमार बस्नेत, विजयकुमार राई, रेवतीरमण भण्डारी, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव र मिना श्रेष्ठ रहेका छन् ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन अनुसन्धान तथा स्वास्थ्य उपाचारको लागि धेरै महत्त्वपूर्ण संस्था हुँदाहुँदै पनि सो संस्था विभिन्न कारणले क्रमश धरासायी बन्दै गईरहेकोप्रति सांसदहरुले गम्भीर हुन पनि मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएका छन् । 

bp pradesh cm