धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक, कर्मचारीहरुको भद्र अवज्ञा आन्दोलन आइतबार २२ औं दिन प्रवेश गर्यो । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार व्यवस्थापन र आन्दोलनरत पक्षलाई वार्ताको टेवलमा राखेर सहमति जुटाउन प्रयास गरेपनि सार्थक भएन ।

वार्तामा सहमतिको खाका तयार भएपनि हस्ताक्षर हुन नसकेपछि आइतबार दुवै पक्षलाई छलफलमा बसेर हस्ताक्षर गर्न आग्रह गर्दै प्रजिअ आचार्य सदरमुकाम इनरुवा फर्किएका थिए । प्रजिअ आचार्यले भनेजस्तो आज (आइतबार) व्यवस्थापन पक्ष (पदाधिकारीहरु) र आन्दोलनरत पक्ष शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिबीच छलफल भएन । 

व्यवस्थापन पक्षले नबोलाएपछि आइतबार पनि शिक्षक, कर्मचारीहरुले उपकुलपति कार्यालयअघि धर्ना बसेर नै समय कटाए । यस्तै, पठनपाठन सुचारु गर्न माग गर्दै विद्यार्थीहरुले पनि उपकुलपति कार्यालयअघि रिले अनसनलाई आइतबार पनि निरन्तरता दिए । 

यसैबीच, आइतबार कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले अपिल जारी गर्दै पठनपाठन सुचारु गरिदिन शिक्षकहरुलाई आग्रह गरेका छन् । उनले शिक्षक, कर्मचारीहरुको बढुवालगायत महत्वपुर्ण बिषयहरुमा निर्णय गर्न माघ २९ गते सिनेट बैठक आह्वान भइसकेकोले पठनपाठन सुचारु गर्न आग्रह गरेका छन् । यस्तै, उनले बिषम परिस्थितिको वैधानिक समाधान खोज्न र पढ्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिष्ठान व्यवस्थापन लागि परेको भन्दै विद्यार्थीहरुलाई पनि विरोधको कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । 

vc apeal1