धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक, कर्मचारीहरुको माग सम्बोधन भएपछि आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।

कार्यकारिणी समिति शुक्रबार बसेको बैठकले अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न अन्तर्वार्ताको तालिका प्रकाशन गर्ने निर्णय गरेपछि शनिबार व्यवस्थापन पक्ष र आन्दोलनरत शिक्षक, कर्मचारीबीच सहमति भएको हो । सहमति भएसँगै शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले करिब एक महिना लामो आन्दोलन स्थगित गरेर काममा फर्किएको जानकारी दिएको छ । 

गत पुष २९ गतेदेखि शुरु भएको आन्दोलनले प्रतिष्ठानमा उपचार सेवा र विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको थियो । सहमतिसँगै आइतबारदेखि उपचार र पढाई सुचारु हुने भएको छ । विद्यार्थीहरुले पनि विगत ९ दिनदेखि जारी राखेको रिले अनसन अन्त्य गरेका छन् ।

प्रतिष्ठानका चार जना पदाधिकारी र शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, विद्यार्थी कल्याण समाजका प्रतिनिधिबीच शनिबार लिखित सहमति भएको थियो । उक्त सहमतिमा अवरुद्ध भएको अन्तर्वार्ता फागुन ६ गतेबाट शुरु गरेर तालिका वमोजिम सम्पन्न गर्ने र अन्तर्वार्ता सकिएको एक साताभित्र नतिजा प्रकाशित गर्ने उल्लेख छ ।

यसैगरि, आन्दोलनमा सहभागी शिक्षक, कर्मचारीहरुप्रति प्रतिष्ठान व्यवस्थापनबाट पुर्वग्रह राखेर कुनै पनि कारबाही नगर्ने, नगराउने र भविष्यमा कुनै प्रकारको कानुनी झमेला आइपरेमा प्रतिष्ठानले आवश्यक साथ सहयोग गर्ने पनि सहमति भएको छ । विद्यार्थीको पठनपाठनमा परेको असरलाई गम्भीरतापुर्वक मनन् गरेर तत्काल सुचारु गर्ने र त्यसबाट भएको क्षतिलाई आपसी समझदारीमा न्युनीकरण गर्ने पनि सहमति भएको छ । भविष्यमा पठनपाठनको कार्यमा असर पुग्नेगरि कुनै गतिविधि नगर्न, नगराउन सबै सरोकारवाला पक्ष प्रतिवद्ध रहने पनि सहमति भएको छ ।

bp

bpre