धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अवरुद्ध बढुवा प्रक्रिया फागुन ६ गतेदेखि सुचारु हुने भएको छ ।

प्रतिष्ठानको शुक्रबार राती सम्पन्न भएको कार्यकारिणी समिति बैठकले अन्तर्वार्ता फागुन ६ गतेदेखि स्थायी र करार दुवैको शुरु गर्ने निर्णय गरेको हो । बैठक पछि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई सम्बोधन गर्दै रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संगौलाले भने, ‘अन्तर्वार्ता ६ गतेदेखि स्थायी र करार दुवैको कार्यतालिका प्रकाशन हुन्छ । ६ गतेको प्रकाशन गर्न दिइसकेका छौ, विस्तृतरुपमा २ दिन पश्चात सम्पुर्ण कार्यतालिका तय गरेर प्रकाशित गर्नेछौं, र अटुटरुपमा अघि बढाउने प्रतिवद्धता जनाउछौं ।’

रजिष्ट्रार डा.संग्रौलाले निर्णय सुनाउने क्रममा खुशीसँगै व्यवस्थापनको तर्फबाट क्षमा याचना पनि गरेका थिए । उनले व्यवस्थापन पक्ष सच्चिदै गएको र भविष्यमा यस्ता घटनाहरु नहुने प्रतिवद्धता पनि उनले जनाए । ‘आज अन्यन्त खुशीको कुरा छ । तर यति दिन जे अवस्था सृर्जना भयो, हामी आफै पनि व्यवस्थापनको तर्फबाट दुःखी छौं, क्षमा याचना चाहन्छौं,’ रजिष्ट्रार डा.संग्रौलाले भने,‘हामी प्रतिष्ठान जोगाउन चाहन्छौं, जे जति असुविधा भएको छ, त्यसप्रति क्षमा याचना गर्न चाहन्छौं । यति भन्छु, हामी सच्चिदैछौं, सच्चिन चाहन्छौं, भोलीका दिनमा यस्ता घटना हुदैन भन्ने प्रतिवद्धता जनाउन चाहन्छौं ।’

कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले पनि संक्षिप्त सम्बोधन गर्दै कार्यकारिणी समितिले एकमतले अन्तर्वार्ताको कार्यतालिकाबारे निर्णय गरेको खुलाउदै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई आआफ्नो काममा फर्कन आग्रह पनि गरे । उनले भने,‘हामीले यहीबाट गर्नसक्ने जे छ गछौं, माथि लैजानुपर्ने हो भने पनि लैजान्छौं ।’ रेक्टर प्रा.डा.सञ्जिवकुमार शर्माले पनि संक्षिप्त सम्बोधन गर्दै आइतबारदेखि पठनपाठन सुचारु हुने बताए । रोकिएको पठनपाठनको सेड्युल बनाउन डिनलाई भनिसकेको पनि उनले बताएका थिए । 

बढुवा प्रक्रिया सुचारु गर्ने लिखित सहमति पालना नभएको भन्दै शिक्षक, कर्मचारीहरु गत पुष २९ गतेदेखि आन्दोलनमा उत्रदा पठनपाठन र आकस्मिक बाहेक उपचार सेवा पनि ठप्प छ । विद्यार्थीहरु पनि एक सातादेखि पढाई सुचारु हुनुपर्ने माग राख्दै रिले अनसनमा थिए । उच्च अदालत विराटनगरले आन्तरिक बढुवा प्रक्रिया कानुन वमोजिम भएको ठहर गरेपछि प्रतिष्ठानमा बढुवा प्रक्रिया सुचारु गर्ने बाटो खुलेको थियो ।