धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन संस्था दर्ता गरिएको छ । 

मेयर हर्क साम्पाङ अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेको सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता भएको हो । उक्त संस्थाको दर्ता प्रमाणपत्र किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बुधबार मेयर साम्पाङलाई हस्तान्तरण गरेका थिए । उनी प्रतिष्ठानको उपाध्यक्ष रहेका छन् । संस्थाको सचिवमा पञ्चमाया ताम्ली, कोषाध्यक्षमा दत्त लिम्बु र सहसचिवमा ऐसा सुनुवार रहेका छन् । 

सुम्निमा पारुहाङको प्रतिमा बनाउन कार्यपालिका बैठकले निर्णय गरेपनि सरकारको बजेट विना नै बनाउने मेयर साम्पाङले बताउदै आएका छन् । प्रतिमा बनाउन आवश्यक पर्ने जग्गा खरीद गर्न बैना गरिएको र अब संस्था दर्ता भएकोले प्रतिष्ठानको नाममा जग्गा पास गर्ने पनि उनले बताए । ‘व्यक्तिको नाममा जग्गा राख्नु भएन । त्यसैले संस्था आवश्यक पर्यो, अब आधिकारिकरुपमा काम गर्न सहज भयो,’मेयर साम्पाङले भने,‘निर्माण सम्पन्न भइसकेपछि नगरलाई नै हस्तान्तरण गछौं, त्यो नगरकै सम्पत्ति हुनेछ, देशकै सम्पत्ति हुनेछ ।’

मेयर साम्पाङका अनुसार बुधबार दिउँसोसम्म बैंक खातामा ४३ लाख ९४ हजार ९०५ रुपैया सहयोग रकम जम्मा भएको छ । त्यसबाहेक हालसम्म चिण्डे डाडाका विभिन्न जग्गाधनीहरुलाई बैना दिएको र त्यहाँ रहेका टहराहरुलाई पनि अन्यत्र व्यवस्थापन गरेर बस्ने सर्तमा गरि ५१ लाख रुपैया बुझाइसकेको मेयर साम्पाङले जानकारी दिए ।

‘अहिलेसम्म हामीलाई कुल ९४ लाख ९४ हजार ९०५ रुपैया प्राप्त भएको छ । चैत १० गते हुने सुम्निामा पारुहाङ साँझको टिकटमार्फत संकलन भएको रकम यसमा समावेश छैन,’ उनले भने । प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र राईले बैना गरिएको जग्गाहरु मध्ये भोली (बिहिबार) केही जग्गा प्रतिष्ठानको नाममा पास गर्ने काम हुनेछ ।

भिडियो :

भिडियो: