धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफुले ऐन, नियम वमोजिम नै कार्यपालिका बैठक आह्वान गरेको दाबी गरेका छन् ।

कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै अवैधरुपमा बैठकका बोलाएको आरोप लगाउदै बहिष्कार गरेपछि मेयर साम्पाङले पनि आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन् । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारमा कार्यपालिका बैठकमा भाग लिने कर्तव्य भनेर उल्लेख भएको खुलाउदै बैठकमा भाग लिन्न भनेर कसैले भन्न नपाउने जिकिर गरे । 

‘कर्तव्य पुरा नगरे पछि अधिकार प्राप्त हुदैन, उहाँहरुलाई कसरी मुल्याकन गर्ने हो ? हामी जनताको सेवक हौ, जान मन लागेन, कार्यपालिका बैठक बस्न मन लागेन भनेर हुदैन,’ मेयर साम्पाङले भने,‘बैठकमा आउनुपर्छ, बजेट बनाउनुपर्छ, मेयरको लागि, वडाअध्यक्षको लागि पनि होइन, जनताको लागि हो । विकासको लागि हो ।’

मेयर साम्पाङले वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले ऐनको कुन दफा वा बुँदा प्रयोग गरेर बैठक बहिष्कार गरेको भनेर प्रश्न पनि गरे । साथै उनले बजेटको लागि कार्यपालिका बैठक बस्ने कि नबस्ने भन्ने सवाल वा विकल्प नै नहुने बताए । वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले लोकतान्त्रिक मुल्यमान्यता विपरीत, जनताको आकांक्षा, जनताको चाहना र आवश्यकता विपरीत काम गरिरहेको पनि मेयर साम्पाङको भनाई थियो ।

‘एडिबिको हिसाब किताब खोज्छु भनेको छुँ, फाइलहरु पनि मगाइरहेको छुँ । त्यसको हरहिसाब खोज्न थालेकोले घेराबन्दीको स्थिति भएको हो कि भन्ने लाग्छ,’ उनले भने,‘म फेरि बैठक बोलाउछु । ऐन अनुसार हामी बाँधिएका छौं, कार्यपािलका बैठकमा भाग लिने कर्तव्य अनिवार्य पुरा गर्नुपर्छ ।’ 

कार्यपालिका बैठकको लागि प्रमुख प्रशासकीय अधिकृतले पत्राचार गर्नुपर्ने र निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदाहुदै मेयर साम्पाङले क्षेत्राधिकार मिचेर आफैले पत्र पठाएको आरोप वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको थियो । मेयर साम्पाङले भने प्रज्ञादेवी निरौला निमित्त भएपनि उनले आर्थिक पक्षको काम नगर्ने भनेको र त्यसो गर्न पाइदैन भनेपछि सरुवा लिन्छु भनेर सरुवाको सहमति पनि लगेको दाबी गरे । ‘उहाँले चेकमा साइन गर्दिन भन्न पाउछ ? पाइदैन, त्यसबारे मन्त्रालयमा पत्र पठाएको छुँ । मन्त्रालयबाट अर्को व्यवस्था गर्ने भनेर कर्मचारी पठाउने भनेको छ,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्था चेकमा हस्ताक्षर गर्ने बाहेक नगर प्रमुखले अरु काम गर्न पाउने अधिकार ऐनमा रहेको पनि उनले बताए । ‘उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरुलाई काम तोक्ने अधिकार पनि मलाई छ । अहिले प्रमुख प्रशासकीय अधिकृत छैन, त्यसो भए बैठक नै नबस्ने ? समग्रमा नेतृत्व म भएकोले पत्र पठाएको हो, त्यो पत्र वैध छैन कसरी भन्न मिल्छ ?’ उनले भने । 

भिडियो:

भिडियो: