धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच पत्रकार सम्मेलनमार्फत आरोप प्रत्यारोप चलिरहदा उपमेयर अइन्द्रबिक्रम बेघाले पनि बिहिबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

बजेटको तयारी गर्नुपर्ने चटारोको बीच वडाअध्यक्ष र मेयर साम्पाङबीचको मतभेदले कार्यपालिका बैठक नै अवरुद्ध भएपछि उपमेयर बेघाले पनि बिहिबार पत्रकार सम्मेलन गरे । उनले दुई बर्षसम्म आफु जिम्मेवारढंगले प्रस्तुत भएको जिकिर गर्दै मेयर साम्पाङको कार्यशैलीको कारण आज धरान उपमहानगरपालिका अस्तब्यस्त बन्न पुगेको आरोप लगाए । 

विगतमा पनि उपमेयर बेघाले कार्यपालिका बैठकमै मेयर साम्पाङको कार्यशैलीको चर्को आलोचना गरेका थिए । तर पत्रकार सम्मेलन गरेर विरोध र आलोचना गरेको यो पहिलो पटक हो । उपमेयर बेघाले वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनको मुलमर्मसँग आफु सहमत भएको पनि बताए । ‘उहाँहरुले भन्दै हुनुहुन्थ्यो, सहकार्य र समन्वयको आधारबाट धरान उपमहानगरपाकिलालाई अगाडि बढाउनुपर्छ । त्यो मुल मर्मसँग म सहमत छुँ ।सल्लाह र समन्वय नभएपछि के हुन्छ ? अहिले भएको त्यही हो,’ बेघाले भने ।

धरान विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएको र आर्थिक अधिकारसहित अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलालाई समेत मेयर साम्पाङले काम नगर्नु भनेर पत्र दिएर काम गर्न नदिएको कारण आर्थिक बर्षको अन्त्यमा समस्या सृर्जना भएको उपमेयर बेघाले बताए । 

मेयरले निमित्त प्रशासकीय अधिकृतलाई काम नगर्न दबाब दिएर प्रशासकीय अधिकृतले गर्नुपर्ने कार्यक्रम तथा योजना सम्झौता पनि आफैले गरेर पदीय आचरण विपरीत कार्य गरेको उपमेयर बेघाले बताए । यस्तै, ऐनको दफा १६ मा उल्लेख गरिएको नगर उपप्रमुखको अधिकारसमेत नगर प्रमुख आफैले प्रयोग गरी ऐनको पदीय आचरण विपरीत कार्य गरेका कारण कुनै पनि कार्य समन्वयात्मकढंगले अघि बढ्न नसकेको बेघाले बताए । साथै उनले स्थानीय सरकारको भुमिकालाई प्रभावकारी बनाउन एकअर्काको सम्बन्धलाई परिपुरक बनाई तहगत दायित्व र जिम्मेवारी बोध गर्दै सम्मानित र मर्यादित ढंगले सबैसँग समन्वय गरी अभिभाकत्वको भुमिका निर्वाह गर्न पनि मेयर साम्पाङलाई आग्रह गरेका छन् ।

deputy mayor begha

मेयरले कार्यपालिका बैठक सञ्चालन गर्दा कम्तीमा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय र सल्लाह गर्ने, त्यसपछि सम्बन्धित दलहरुबाट निर्वाचत भएका प्रतिनिधिसँग समन्वय गरेर एजेण्डा तय गरि मिति तोक्ने गरेमा कुनै समस्या नहुने उपमेयर बेघाले बताए । ‘अहिलेसम्म नगर प्रमुखलाई लाग्दा बैठक हुने, लागेको एजेण्डा मात्र एजेण्डा बन्ने गरेको छ, मुल समस्या यही छ,’उनले भने,‘पछिल्लो समय कस्तो देखिन्छ भने प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारी पनि उहाँ आफैले गरिरहनुभएको छ । वास्तवमा त्यो उहाँले गर्न मिल्दैन ।’

कोही व्यक्तिलाई नंग्याएर र आरोप प्रत्यारोप गरेर आफु मात्र सुद्ध, आफु मात्र स्थापित हुनखोज्ने मानसिकताले समस्या भएको पनि उपमेयर बेघाले बताए । ‘नगर कार्यपालिका नै कोमामा भएको अनुभूति भएको छ, नगर प्रमुखले कार्यपालिकालाई कोमामा पुर्याएर नगर सञ्चालन गर्न खोजेको भान हुन्छ,’उनले भने,‘कम्तीमा मेयरले ऐनको धारा, दफा र त्यसले प्रदान गरेको सिमा, क्षेत्रभित्र रहेर आफ्नो काम कर्तव्य र अधिकार भुमिका निर्वाह गर्नुपर्नेमा विर्सेर अघि बढ्नुहुन्छ ।’ 

यस्तै, उपमेयर बेघाले मेयर साम्पाङले प्रत्येक मन्त्रालय र विकासे आयोजना कार्यालयमा नगर प्रमुखले माग गरेको योजना बाहेक अरु योजना नदिन भनेर पत्र पठाएको पनि खुलासा गरे । ‘यसले धरानलाई विकास र समृद्धितिर अघि बढाउछ कि पछि पार्छ ? आएको योजनामा पनि चित्त नबुझे रोकिदिने गरिरहनु भएको छ । यस्ता कुराले धरानमा समस्या पैदा भएको छ,’ उनले भने,‘कर्मचारी नियुक्ती पनि एक्लै गर्नुहुन्छ । हटाउने पनि एक्लै, नियुक्ती पनि एक्लै । टिमसँग सल्लाह गर्नुहुन्न । ट्रयाकबाहिर गएर नगरपालिकालाई विवादित बनाउने, पदीय मर्यादालाई विवादित बनाउने काम गर्नुभएको छ । ऐन कानुनभन्दा बाहिर गएर काम गरेपछि नगरपालिकाले मुद्दा खेप्नुपरेको छ,’ उपमेयर बेघाले भने ।

भिडियो: