धरान: आज बिहानैदेखि सुनसरी र मोरङलगायत कोशी प्रदेशका विभिन्न जिल्लामा भारी बर्षा भइरहेको छ । 

जल तथा मौषम विभागले सुनसरी र मोरङमा भारी बर्षाले खोलामा बाढी आउने भएकोले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार पछिल्लो ३ घण्टा (बिहान ६ः३० देखि ९ः३०)मा सुनसरीको बराहक्षेत्रको चतरा, धरान, इटहरी र मोरङको लेटाङ, केराबारी, हरैचा, बाउने र आसपासमा भारी बर्षा भएको छ । 

बर्षा निरन्तर भइरहेकोले सेउती, सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया, लोहान्द्रा, चिसाङलगायत सुनसरी र मोरङ भई बग्ने खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले मध्यान्ह् १२ बजेसम्म उच्च सर्तकता अपनाउन पनि विभागले आग्रह गरेको छ । 

बिहानैदेखिको निरन्तरको बर्षाले धरानमा बाढी र घरहरु डुबानमा परेको छ । सर्दु, खर्दु र खहरे खोलामा बाढी आएको छ । ड्रेन भरिएर कतिपय सडकमै पानी खोला जस्तरी नै बगिरहेको छ । केही बस्तीहरु जोखिममा परेका छन् । उपमेयर अइन्द्रबिक्रम बेघाका अनुसार बर्षाले बस्ती र घरहरु डुबानमा परेको खबर आएको छ । उपमहानगरपालिकाको टोली स्थलगत अनुगमनमा जाने तयारी भइरहेको पनि उनले जानकारी दिए ।