धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चर्किएर मंगलबार उपमहानगरपालिका तनावग्रस्त बनेको छ ।
सोमबार पनि मेयर साम्पाङका समर्थक श्रमदाताहरु र उपमेयर बेघा सम्बद्ध पार्टी माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु उपमहानगरपालिकामा आमनेसामने भएका थिए । त्यसक्रममा एक युवा उपमहानगरपालिका गेटबाहिर राजनीतिक दलका कार्यकर्ताहरुबाट निर्घात कुटिएका छन् । भिडियो खिचिरहेका ती युवाले दलका कार्यकर्ताहरुले आक्रमण गरेपछि प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिकाभित्र छिराएर जोगाएका थिए । कुटाई खाने व्यक्तिको नाम भिषण राई रहेको खुलेको छ ।
मेयर साम्पाङ र उपमेयर बेघाको विवाद धरान वडा नं १६ स्थित बहुभाषिक पाठशाला जोगाउन ग्याबियन जाली लगाएको बिषयबाट शुरुवात भएको देखिन्छ । उक्त काम कानुन र विधिसम्मत नभएकोले अनुगमन नगर्ने अडान उपमेयर बेघाले लिएपछि विवाद सृर्जना भएको थियो । श्रमदान भनेर बजेट निकासा गर्न दबाब दिएको उपमेयर बेघाको आरोप छ । मेयर साम्पाङले भने नियमसम्मत काम भएको र अनुगमनसमेत गरिसकेको फाइल उपमेयर बेघाले नै कर्मचारीबाट खोसर लगेपछि श्रमदानको विरोध गर्दै विवाद शुरु गरेको बताइरहेका छन् ।
सोमबार बजेट तथा सिलिङ निर्धारण समितिको बैठकको क्रममा मेयर साम्पाङका समर्थक श्रमदाताहरु उपमहानगरपालिका पुगेपछि मुठभेठको स्थिति बनेको थियो । सोमबार नै उपमेयर बेघाले उपमहानगरपालिकाको डोजर र ट्रिपरको चाबी चालकबाट लिएका थिए ।
उपमेयर बेघाले चाबी खोसेर राखेपछि धरान वडा नं १० स्थित नारायणपथका जनताहरु ड्रेन निर्माण कार्य प्रभावित भएको भन्दै मंगलबार बिहान उपमेयर बेघालाई चाबी माग्न गएका थिए । ड्रेन बनाउन डोजरले खन्नुपर्ने भएकोले नारायणपथको काम प्रभावित हुने अवस्था आएको थियो ।
उक्त बिषयमा वडा नं १० का अध्यक्ष विवेक राईले उपमेयर बेघालाई पनि बोलाएर मेयर साम्पाङको कार्यकक्षमा छलफल राखेका थिए । त्यसक्रममा मेयर साम्पाङ र उपमेयर बेघाबीच झण्डै हात हालाहालको स्थिति बनेको थियो । उपमेयर बेघाका कार्यकर्ताहरु पनि मेयर साम्पाङको कार्यकक्षमा भेला भएपछि स्थिति तनावग्रस्त बन्यो । मेयर साम्पाङका समर्थक र उपमेयर बेघाका कार्यकर्ताहरु भिडन्त हुने अवस्था आएपछि ईलाका प्रहरी कार्यालय धरानका डिएसपी आर्फै पुगेका थिए भने सशस्त्र प्रहरीको टोली पनि परिचालन भएको थियो ।
मेयर साम्पाङको कार्यकक्षमा उपमेयर बेघा, वडा १० का अध्यक्ष विवेक राईबीच छलफल भइरहदा वडा नं १७ का अध्यक्ष एवं कार्यपालिकाका प्रवक्ता मनोज भट्टराई पनि पुगेका थिए । उनी एकैछिन मात्र उक्त छलफलमा बसेका थिए । मेयरको कार्यकक्षबाट बाहिर निस्केपछि माओवादी कार्यकर्ताहरुसँग नारा लगाउदै नगरपालिका परिसरतर्फ गएका थिए । माओवादी कार्यकर्ताहरुले श्रमदाताहरुलाई भिड्न आउन पटक पटक चेतावनी दिएपनि संयमता र प्रहरी परिचालनले अप्रिय घटना हुन पाएन । यद्यपी, प्रहरीले दुवै पक्षलाई मेनगेट बाहिर पठाएपछि भने एक युवाले दलका कार्यकर्ताहरुबाट कुटाइ खाएका थिए ।
चाबी वडाअध्यक्षलाई बुझाएपछि विवाद मत्थर
सोमबार डोजर र ट्रिपरको चाबी खोसेको घटनाले मेयर साम्पाङ र उपमेयर बेघाबीचको विवादले नयाँ मोड लियो । विवादको केन्द्रबिन्दु बन्यो, चाबी । नारायणपथ ड्रेन निर्माण कार्य प्रभावित हुने अवस्था बनेपछि स्थानीय र वडा १० अध्यक्ष विवेक राई मंगलबार बिहान मेयर, उपमेयर दुवैलाई भेट्न पुगेका थिए ।
मेयर साम्पाङले उपमेयर बेघाले चाबी फिर्ता गर्नुपर्ने अडान लिए । उपमेयर बेघाले पनि मेयर साम्पाङसँग अर्को चाबी रहेको तर छैन भनेर ढाटेको प्रतिक्रिया दिइरहे । मेयर साम्पाङ र उपमेयर बेघाबीच नै झण्डै हात हालाहाल भएपछि वडाअध्यक्ष राईले आफुहरुमात्र छलफलमा बस्ने भन्दै सबैलाई मेयर साम्पाङको कार्यकक्षबाट बाहिर निस्कन आग्रह गरेका थिए । त्यसपछि उनीहरुमाछ छलफलमा बसेका थिए ।
केहीबेरको छलफल पश्चात वडाअध्यक्ष राई उपमहानगर परिसरमा आएर डोजर र ट्रिपरको चाबी मेयर, उपमेयर दुवैले आफुलाई जिम्मा दिएकोले विवाद मत्थर भएको जानकारी गराएका थिए । उनले नारायणपथ ड्रेन निर्माण भइञ्जेल चाबी आफुले राख्ने र ड्रेन बनाउन प्रयोग गर्दा मात्र चालकलाई दिने बताए । साथै उनले नियमितरुपमा मेयर, उपमेयर र अन्य वडाअध्यक्षहरुबीच छलफल गरेर देखा परेको अन्य विवाद पनि मिलाउन प्रयत्न गर्ने बताए ।
भिडियो: