धरान: नेपाल सरकारले लिएको ऋणलाई अनुदानकोरुपमा नलिए पनि धराने जनताको टाउकोमा उक्त ऋणको भार पर्ने कोशी प्रदेशका सांसद विजयकुमार राईले बताएका छन् ।

चौथो स्वर्गीय मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद राईले यस्तो बताएका हुन् । उनले सप्तकोशीको पानी ल्याउन संघीय सरकारले दिएको अनुदानसमेत ऋण भन्दै मेयर हर्कराज राई (साम्पाङ)ले नलिने अभिव्यक्ति दिएको सन्दर्भमा यस्तो धारणा व्यक्त गरेका हुन् । मेयर साम्पाङले सरकारले कुनै विदेशी ऋण लिएर नभै राष्ट्रिय बजेटबाटै कोशीको पानी धरानलाई खुवाउनुपर्ने बताउदै आएका छन् ।

कोशी प्रदेशका सांसद राईले भने संघीय सरकारले लिएको ऋण धरानले अनुदानमा स्वीकार नगरेपनि ऋणको भार भने धरानका जनताको टाउकोमा रहने भन्दै उक्त अनुदान स्वीकार गरे विकास, समृद्धिको लागि धरानलाई अवसर हुने पनि बताए । नेपाल सरकारले कोशीको पानी ल्याउन ८५ प्रतिशत अनुदान दिने र १५ प्रतिशत मात्र स्थानीय सरकारको सहभागिता हुने उनले बताए । 

major shrawan basketball

‘तर स्थानीय सरकारले ध्यान दिएको छैन, पत्राचार गरेरै म ऋण लिन्न, धराने जनतको टाउकोमा ऋण आउछ भन्ने हिसाबले सुनौलो अवसर गुमाइरहेको छ,’ सांसद राईले भने, ‘नेपाल सरकारले लिएको ऋण धरानले अनुदान नलिदा पनि धराने जनताको टाउकोमा ऋणको भार बोकिदैन र ? कति बोक्नुपर्ने हो, बोकिन्छ ।’

उनले स्थानीय सरकारको हठको कारण वा भावनामा बगेर धरानमा आएको ठुलो अवसर गुमाए धरान धेरै पछि पर्ने बताए । ‘स्थानीय सरकारको हठको कारणले लिन्न भन्दैमा, अथवा भावनामा बगेर धरानमा आएको ठुलो अवसरलाई गुमायौं भने धरान धेरै पछि पर्छ,’ उनले भने, ‘धरानको जुन समृद्धिको कुरा गछौं, विकासको कुरा गछौं त्यो पछि जान्छ । यदि हामीले अवसरलाई त्याग्यौं भने यस्तो अवसर आउन धेरै समय लाग्छ ।’

major shrawan basketball4

सांसद राईले कसैको हठमा नलागि धराने जनताले यो अनुदानलाई धरानको खानेपानी समस्या समाधानको लागि सहयोग पुग्छ भनेर बुझ्नुपर्ने पनि बताए । धरानको खानेपानी समस्या हल गर्न अनुदानलाई सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने उनको भनाई थियो । प्रदेश सरकारले आफुहरु निवार्चित भएपछि ७ करोड रुपैया पुर्णअनुदानमा ३ वटा डिप बोरिङ गरेर दैनिक ५० लाख लिटर पानी उत्पादन भएको तर मेयर साम्पाङले वितरण गर्न नमानेको पनि सांसद राईले बताए । 

‘यसले तत्कालको लागि धरानको खानेपानी समस्या समाधान गर्न ठुलो टेवा पुग्छ, तर स्थानीय सरकार प्रमुखले म यो लिन्न भनिरहेका छन्,’ उनले भने,‘यत्रो खानेपानी समस्या छ, तर संघ र प्रदेशको सहयोग नलिनुको अर्थ के हो, तपाई हामी सबैले बुझौं, मनन गरौं ।’ सांसद राईले धरानको विकास, समृद्धि र प्रगतिको लागि हातेमालो, समन्वय र सहकार्य गर्न पनि आग्रह गरेका छन् । 

major shrawan basketball5

डिपो स्कुलका पुर्वव्यवस्थापन समिति अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बुको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घाटन पनि सांसद राईले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल गत बर्षको विजेता सियोन र प्रभात बोर्डिङ स्कुलबीच भइरहेको छ । प्रतियोगितामा विभिन्न १८ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजक डिपो स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बुले जानकारी दिए । 

स्वर्गीय मेजर लिम्बुको बारेमा जानकारी दिदै अध्यक्ष लिम्बुले पुर्वगोर्खा आर्मी भएर पनि अवकाश पछिको जीवनमा वेलफेयर अफिसरको जिम्मेवारी निर्वाह गर्नुका साथै सामाजिक, राजनीतिक जीवनमा पनि सक्रियतापुर्वक जिम्मेवारी पुरा गरेको जानकारी दिए) । स्वर्गीय मेजर लिम्बुकै नेतृत्वमा डिपो स्कुलले भौतिक पुर्वाधार, शैक्षिक गुणस्तरमा फड्को मारेको पनि अध्यक्ष लिम्बुले बताए । 

भिडियो: