धरान: कोशीबाट पानी धरान ल्याउने प्रोजेक्टबारे छलफल गर्न संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादव आफै धरान आएपनि मेयर हर्कराज राई (साम्पाङ) भने सम्पर्कमा आएनन् ।
उक्त प्रोजेक्टको लगानीबारे छलफल गर्न मन्त्रालयका सहसचिव र खानेपानी विभागका महानिर्देशकसहित मन्त्री यादव शुक्रबार धरान आएका थिए । मेयर साम्पाङले भेट गर्न इच्छा नदेखाएपछि खानेपानी मन्त्री, मन्त्रालयका सहसचिव र खानेपानी विभागका महानिर्देशक सुनसरी उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।
उक्त कार्यक्रममा भने उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु पनि सहभागी भएका थिए । कोशीको पानी धरान ल्याएर खानेपानी समस्याको दीर्घकालिन समाधान गर्ने मेयर साम्पाङको चुनावी एजेण्डा हो ।
मन्त्री यादवले आफुले मेयर साम्पाङलाई निरन्तर फोन सम्पर्क, एसएमएस गरेपनि कुनै जवाफ एवं प्रतिक्रिया नआएको बताए । आफ्नो निजी सचिव र विभागका महानिर्देशकले फोन गरेपनि मेयर साम्पाङले फोन नउठाएको मन्त्री यादवको भनाई थियो । उनका अनुसार साउन २५ देखि भदौ ७ गतेभित्र कोशीको पानी ल्याउने प्रोजेक्टको टेण्डर गरिएन भने यो प्रोजेक्टको लगानी अन्तै जानेछ ।
‘यो प्रोजेक्ट संघीय सरकार र स्थानीय सरकारको सहलगानीमा हुनेछ । यसमा ८५ प्रतिशत नेपाल सरकारले एडिबिमार्फत अनुदान दिने हो भने १५ प्रतिशत मात्र धरानको लगानी हो,’ मन्त्री यादवले भने,‘यसमा चित्त नबुझेको हो भने बसेर संवाद गरौं न, अरु कुनै बाटो निस्कन्छ कि । तर यसरी फोन नउठाउने, कुनै रेस्पोन्स नगर्ने गरेर त भएन नि ।’ प्रोजेक्टको लागि सतप्रशित नै संघीय सरकारले व्यहोर्नुपर्ने कुरा हो भने पनि मेयर साम्पाङले संवादमा आउनुपर्ने उनले बताए । डिपिआर भइसकेको यो प्रोजेक्टको लागि करिब ६ अर्ब बजेट आवश्यक पर्नेछ ।
मन्त्री यादवका अनुसार असार १५ गते कोशी खानेपानी प्रोजेक्टको लागि आवश्यक पर्ने जग्गाको लागि गुठीसँग समन्वय गरेर स्वामित्व लिनु भनेर मन्त्रालयले उपमहानगरलाई पत्राचार गरेको थियो । त्यसको ४ दिनपछि मेयर साम्पाङले एडिबिको ऋण नलिने भनेर पत्राचार गरेको पनि उनले बताए । ‘उहाँले कुरा बुझ्नु भएन वा बुझ्ने प्रयास भएन । मैले लगातार फोन गरे, निजी सचिव र डिजिले पनि गर्नुभयो, फोेन उठ्दै उठेन,’ मन्त्री यादवले भने,‘ऋण नगरले लिनुपर्ने होइन, १५ प्रतिशत लगानी गर्ने कुरा मात्र हो । यो पनि हुदैन भने कुन बाटोबाट जाने हो त ? संवाद त गर्नुपर्यो नि ।’
धरानका जनता पानीको लागि तड्पिरहेकोले प्रधानमन्त्री केपी ओली, आफ्नो पार्टी जसपाका अध्यक्ष अशोककुमार राईको पनि चासोको कारण यो प्रोजेक्ट प्राथमिकतामा पारेको मन्त्री यादवको भनाई थियो । ‘म राजनीति गर्न आएको होइन, खानेपानी समस्या समाधान गर्ने भनेर मेयर साबलाई सम्झाउन आएको हो,’ उनले हात जोड्दै भने,‘म आग्रह गर्छु, मेयर साबलाई सम्झाइदिनुस्, यो प्रोजेक्ट फर्कियो भने फेरि आउछ आउदैन । कुन बाटोबाट समाधान गर्ने हो कुरा गरौं ।’
हाम्रो शिर निहुरिएको छ: उपमेयर बेघा
उपमेयर बेघाले कोशीको प्रोजेक्ट कुनै व्यक्ति बिशेष वा संस्थाको नभएर समग्र धराने जनताको भएकोले कार्यान्वयनमा आउनुपर्ने बताए । उनले यो प्रोजेक्टको लागि कार्यपालिकाले अनुमोदन गरेको र नेपाल सरकारले स्वामित्व ग्रहण गरेर अन्तिम चरणमा पुगेको बेला अनावश्यक राजनीति र झमेला नगर्न पनि आग्रह गरे ।
उपमेयर बेघाले मन्त्री आफै प्रोजेक्टको लगानी जुटाएर लिनुस् भनेर आइरहदा मेयर साम्पाङ भने भेट नगरी भागिहिडेको भन्दै आफुहरुको शिर निहुरिएको टिप्पणी गरे । भदौ ७ गतेभित्र टेण्डर नलागे आयोजना फर्केमा त्यसको जिम्मेवारी कस्ले लिने भन्दै प्रश्न पनि गरे । धराने जनताको आवश्यकता पुर्ति गर्ने कुरामा कसैले राजनीतिक नगर्न, व्यक्तिगत इगो लिएर जनतालाई दुःख नदिन पनि उनले आग्रह गरे ।
उपमेयर बेघाले अघिल्लो पटकको आइयुडिपी प्रोजेक्टको ऋण मिनाहको आग्रह गर्दे नयाँ प्रोजेक्टको लागि पनि ऋण नलिने हो भने बसेर संवाद गर्नुपर्ने बताए । ‘मन्त्री ज्यु लिनुस् भन्दै आएको आएकै हुनुहुन्छ तर मेयर भागेको भागेकै गर्नुहुन्छ । लज्जाबोध भएको छ, शिर निहुरिएको छ,’ उपमेयर बेघाले भने,‘ऋण नबोकाइयोस् भन्ने हो भने पनि टेवलमा बसेर कुरा गरौं । जनताको आवश्यकता र समस्यालाई राजनीति नगरौं ।’
भिडियो:
भिडियो: