धरान: सप्तकोशी खानेपानी परियोजनामा संघीय सरकारले दिने भनेको अनुदान पनि नलिनु धरानका मेयर हर्कराज राई (साम्पाङ) को 'फोस्रो राष्ट्रवाद' भएको कोशी प्रदेशसभाका सांसद विजयकुमार राईले बताएका छन् ।
धरान खेलकुद मञ्चले आयोजना गरेको उत्कृष्ट धरान बर्ष खेलाडी २०८२ कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दे सांसद राईले यस्तो टिप्पणी गरेका हुन् । उनले एसियाली विकास बैंक (एडिबि)बाट नेपाल सरकारले ऋण लिएको भएता पनि धरानलाई भने खानेपानीको कुल लागत ६ अर्बको ८५ प्रतिशत अनुदान स्वरुप दिन लागेको पनि बताए । ‘सरकारले दिने अनुदानलाई ऋण हो, लिन्न भन्नु फोस्रो राष्ट्रवाद हो,’ सांसद राईले भने,‘अन्ततः त्यसले हामीलाई भडखालोमा लान्छ ।’
धरानको सबैभन्दा ठुलो खानेपानीको समस्या निकास तिर जान खोज्दा अनेक बहानामा मेयर साम्पाङले अवरोध सृर्जना गरेको सांसद राईको भनाई थियो । मेयर साम्पाङले आफ्नो चुनावी एजेण्डा नै सकिने देखेर अनुदान नलिने भनेको आशंका गर्दे उनले धरान धेरै पछि पर्ने पनि दाबी गरे । ‘सरकारले एडिबिसँग ऋण लिएको हो, धरानले त्यो अनुदान नलिदैमा धराने जनताको टाउकोमा ऋण भार पर्दैन र ?,’ राईले भने,‘खानेपानीको समस्या समाधान हुने बेला फेरि रोकिदैछ ।’
मेयर साम्पाङले संघ र प्रदेशमा सबै राजनीतिक दल, जनप्रतिनिधिहरुलाई साथमा लिएर बजेट माग गर्न नजाने र फेसबुकमा धम्की, गालीगलौज मात्र गरिरहने भएकोले यसपाली बजेट कम आएको पनि सांसद राईको आरोप थियो । मेयर साम्पाङका समर्थकहरुलाई ‘धुपौरे’को संज्ञा दिदै सांसद राईले भने,‘एउटा व्यक्तिलाई भगवान बनाएको छ, म त्यस्तालाई धुपौरे भन्छु । मान्छे उचालेको छ, पछि लागेको छ, अब सबैले बोल्नुपर्छ, लेख्नुपर्छ । आवश्यक पर्दा प्रतिवाद पनि गर्नुपर्छ ।’
उनले धरानमा ६ लेन सडक रोकिएको र मदन भण्डारी राजमार्ग किन डाइभर्ट भएको भनेर पनि बुझ्नुपर्ने सांसद राईले बताए ।खेलकुदमा राज्यको लगानी न्युन रहेकोप्रति असन्तुष्टी जनाउदै सांसद राईले कम्तीमा पनि तीनै तहको सरकारले कुल बजेटको ३ देखि ५ प्रतिशत बजेट छुट्याउनुपर्ने बताए ।
खेलकुदले नै युवाहरुलाई दुव्र्यसनमा फस्नबाट जोगाउने भएपनि स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्ने पनि उनले बताए । मेयर साम्पाङले शुक्रबारलाई सुधारबार भन्दै केही मानिसहरु भेला पारेर कविता सुनाउदैमा दुव्र्यसनमा कमी नआउने पनि उनले बताए । प्रदेश सरकारसँग खेलकुदमा लगानी बढाउन पहल गरिरहेको भन्दै उनले धरान रंगशालामा फ्ल्ड लाइट जोड्न यो बर्ष बजेट विनियोजन नभएको तर अर्को आर्थिक बर्षमा समावेश गर्ने कुरा मुख्यमन्त्रीसँग भएको पनि उनले बताए ।