धरान: कोशी प्रदेशसभाका सांसद रमेश बस्नेतले धरानको खेलकुदमा जति सम्भावना छ, त्यति लगानी राज्यस्तरबाट नभएको बताएका छन् ।
धरान खेलकुद मञ्चले शनिबार आयोजना गरेको उत्कृष्ट धरान बर्ष खेलाडी अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले यस्तो बताएका हुन् । उनले राज्यस्तरबाट खेलकुदको क्षेत्रमा पर्याप्त लगानी नभएपनि मञ्चले खेलाडीहरुलाई सम्मानको कार्यक्रम गरेको भन्दै प्रशंसा पनि गरे ।
सांसद राईले धरानको खेलकुदको पुर्वाधार विकासको लागि प्रदेशमा विभिन्न पहल र छलफल चलाइरहेको पनि बताएका छन् । उनले धरान रंगशालामा फ्लड लाइट जडान गर्न पहल भइरहेको पनि बताए । ‘फ्लडलाइट लगायतका आवश्यक पुर्वाधारका लागि विभिन्न पहल र छलफल चलाइरहेका छौं,’ बस्नेतले भने, ‘हामीलाई सम्बन्धित मन्त्री र मुख्यमन्त्रीले आगामी बर्षको वचन दिनुभएको छ, तथापी त्यो पर्याप्त छैन ।’ उनले खेल विकासको लागि विभिन्न कार्यक्रम आयोजना गर्न, बन्द प्रशिक्षणहरुको व्यवस्था गर्न पनि बजेट अवाश्यक पर्ने बताए ।
कुनै समय धरान अत्यन्त सुन्दर, सभ्य, व्यवस्थित र सफा सहर भनेर परिचित रहे पनि अहिले नकरात्मक कुराहरु बढी चर्चा भइरहेको सांसद राईले बताए । ‘पछिल्लो समय नकरात्मक कुराहरु बढी भइरहेको छ,यसको जिम्मेवारी पनि तपाई हामीले नै लिनुपर्छ । भनाई छ, समाजमा जो जति शक्तिशाली छ, जो जति जिम्मेवार छ, समाजमा उसले त्यति नै जिम्मेवारी पनि लिनुपर्छ,’ उनले भने । धरानमा विभिन्न समस्या, आवश्यकताहरु र सम्भावनाहरु पनि भएको उल्लेख गर्दे उनले ती बिषयहरुमा एकअर्कामा संवाद र छलफल गर्न सकिने पनि बताए ।
धरान गालीबेइज्जती गर्नेहरुको सहर बनाउन खोजिदैछ: कांग्रेस सभापति पोख्रेल
नेपाली कांग्रेसका धरान उपमहानगर कमिटीका सभापति श्याम पोख्रेलले धरान गालीबेइज्जती गर्नेहरुको सहरमा परिणत गर्न खोजिरहेको बताएका छन् । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेता पोख्रेलले सामाजिक सञ्जालमा धरानका चेलीबेटीहरु रोइरहेको भन्दै जथाभावी गालीबेइज्जती गर्नेहरुलाई सच्चिन पनि आग्रह गरे ।
‘अहिले सामाजिक सञ्जालमा धरानका चेलीबेटीहरु रोइरहेको हेर्नुपरिरहेको छ । धरानलाई गालीबेइज्जतीको सहरकोरुपमा परिणत गर्न खोजिदैछ,’ पोख्रेलले भने,‘म त्यसो गर्ने नेतृत्वलाई र गर्नेहरुलाई सच्चिनको लागि आग्रह गर्छु, धरानका चेलीबेचीहरु सामाजिक सञ्जालमा रुदै गरेको हेर्नु नपरोस् ।’ धरानका चेलीबेटी र फरक मत राख्नेहरुलाई अघरमा आमा, छोरी, दिदीबहिनीहरु नै नभएजस्तो गालीगलौज गर्ने कुकर्मबाट पछि हट्न उनले आग्रह गरे ।