धरान: विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल हाइ स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
डिपो स्कुलको बास्केटवल कोर्टमा शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९ स्कोरले हराउदै सेमीफाइनल प्रवेश गरेको हो । यस्तै, प्याराडाइज स्कुल तरहराले पुर्वान्चल स्कुल तरहरालाई ३३-१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ र कार्मेल धरानले हिमशिखर स्कुल तरहरालाई ४४-४१ अंकको अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
शनिबार भएको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम श्रेष्ठ र कार्मेलका प्रत्युस भुजेल म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई राष्ट्रिय बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र डिपो स्कुल खेलकुद संयोजक उमेश ताम्राकारले ट्रफि प्रदान गरेका थिए ।
भोली आइतबार पहिलो सेमिफाइनल खेल आइडल स्कुल र सुनाखरी स्कुल बिच हुनेछ भने दोस्रो सेमीफाइनल खेल कार्मेल हाइ स्कुल र प्याराडाइज स्कुल तरहराबीच हुने आयोजक डिपो स्कुलले जानकारी दिएको छ । कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको छ । विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजना भइरहेको छ । तस्विरः बिकास चाम्लिङ राई