धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दीर्घकालिन दुःखाईको उपचार गर्न पहिलो पटक रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) सेवा शुरु भएको छ ।

एनस्थेसियोलोजी विभागको पहलमा यो सेवा पहिलो पटक सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । यो सेवा शुरु भएपछि पहिलो पटक ट्राइजेमिनल न्युराल्जियाको लागि ग्यासेरियन गैङ्गिलयनको रेडियोफ्रिक्वेन्सी एब्लेसन सफलतापुर्वक सम्पन्न पनि भएको प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले जानकारी दिएका छन् । 

सहप्रवक्ता डा.अभिजित कुमारका अनुसार ट्राइजेमिनल न्युराल्जिया एक प्रकारको अत्यन्त पीडादायक स्नायु रोग हो, जसमा अनुहारको एक भागमा बिझाउने, चुडिएको जस्तो पीडा हुने गर्छ । सामान्य औषधी उपचारले निको नभएको विरामीको लागि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रभावकारी उपाय भएको पनि उनले जानकारी दिए ।

‘यो प्रक्रिया अन्तर्गत रेडियोफ्रिक्वेन्सी उर्जा प्रयोग गरी पीडादायी स्नायुको सानो भागलाई लक्षित गरी नष्ट गरिन्छ, यसले पीडालाई लामो समयको लागि कम गर्न सहयोग पुर्याउँछ,’ डा.अभिजित कुमारले जारी गरेको सुचनामा भनिएको छ,‘प्रक्रिया इमेज गाइडेड प्रविधिबाट गरिने भएकोले सटिकटा र सुरक्षाको दृष्टिले निक्कै महत्वपुर्ण मानिन्छ ।’ यो सेवा विस्तार हुँदा पुर्वी नेपालमा बिशेषज्ञतायुक्त दुःखाई व्यवस्थापनमा नयाँ आयाम थपिएको र दीर्घकालिन पीडाबाट ग्रस्त विरामीलाई धेरै राहत दिलाउने प्रतिष्ठानले अपेक्षा गरेको छ ।

बिशेष गरी मेरुदण्डको फेसेट जोइन्ट पीडा, स्याक्रोइल्याक जोइन्ट पीडा, ट्राइजेमिनल न्युराल्जिया, घुँडा वा काँधको आथ्र्राइटिसजन्य पीडा, ओसिपिटाल न्युराल्जिया र केही प्रकारका न्युरोप्याथिक तथा क्यान्सर सम्बन्धी पीडामा पनि यो उपचार सेवा उपयोगी हुने प्रतिष्ठानले जनाएको छ । यस्तै, क्रोनिक भाष्कुलर पीडा वा शल्यक्रिया पश्चात बाँकी रहने पीडामा पनि यसले राहत दिन सक्ने प्रतिष्ठानले जनाएको छ । 

‘सही विरामी छनौट, इमेजिङ मार्गदर्शन र बिशेषको अनुभवका साथ गरिएको रेडियोफ्रिक्वेन्सी एब्लेशनले लामो समयसम्मको पीडा कमी गरि औषधी प्रयोग घटाउन मद्दत गर्दछ, जसले विरामीको जीवनस्तर उल्लेखनीयरुपमा सुधार गर्नसक्छ,’ सहप्रवक्ता डा.अभिजित कुमारले भनेका छन् ।

हड्डी कमजोर हुने रोगको उपचार गर्न डेक्सा स्क्यान सेवा

DEXA Scan Machine

विपी प्रतिष्ठानले हाडजोर्नीका विरामीहरुको उपचार पद्दतीमा सहजता बनाउने उद्देश्यले डेक्सा स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । 

प्रतिष्ठानका अनुसार डेक्सा स्क्यान एक प्रकारको रेडियोलोजिकल परीक्षण हो । यो परीक्षणले मानिसको हड्डीको घनत्व वा वलियोपनको मापन गर्दछ । उमेरको वृद्धिसँगै मानिसमा देखिने ओस्टेओपोरोसिस जस्ता हड्डी कमजोर हुने रोगहरुको समयमै निदान गरी सही उपचार गर्न उक्त परीक्षणले मद्दत गर्दछ । 

‘कतिपय उमेरदारमै पनि हड्डी कमजोर हुने रोगहरु देखिन थालेका छन्, त्यस्ता मानिसहरुको समेत बेलैमा सो परीक्षण गरी हड्डीको स्थिति पत्ता लगाई समयमै सही उपचार गर्दा रोगबाट ग्रसित हुनबाट जोगिन सकिन्छ,’ सहप्रवक्ता डा.अभिजित कुमारले उल्लेख गरेका छन्,‘हाललाई उक्त परीक्षण प्रतिष्ठानको हाडजोर्नी ओपिडीमा हरेक दिन गर्ने गरिएको छ ।’

प्रतिष्ठानको अस्पताल प्रशासनका अनुसार बडी फ्याट एनालाइसिसको शुल्क एक हजार, होल बडीको डेक्सा स्क्यानको शुल्क २५ सय, हिप जोइन्टको डेक्सा स्क्यान १५ सय, एल.एस.स्पाइनको डेक्सा स्क्यानको १५ सय, हिप जोइन्ट र एल.एस.स्पाइनको संयुक्त डेक्सा स्क्यान गर्न २ हजार मात्र शुल्क लाग्नेछ ।